हिजो आज विद्यालय, पठन पाठन र शिक्षक तालिमको बारेमा छलफल गर्दा, मैले विद्यालयहरुलाई भुत घर र शिक्षकहरुलाई भुत भन्ने गरेको छु ।
यो विज्ञानको युगमा भुतका कुरा ! त्यसमाथि समाजका चेतना वृद्धि गर्ने शिक्षा क्षेत्रमै काम गर्नेहरुबाट यस्ता अन्धविश्वासी कुरा !
मेरा कुरा सुन्दा कतिपय एकदमै आश्चर्यमा पर्छन् र अत्तालिएर जिब्रै
टोक्छन् ! कतै कतै भने तिव्र प्रतिवादको सामना पनि गर्ने गरेको छु । हुन
पनि हो प्रतिवाद किन नगर्ने ? जबकी म भन्दै छु विद्यालयहरु भुत घर र शिक्षक
भुत ! यसरी प्रतिवादमा उत्रनेहरुलाइ म धैर्य साथ मेरा कुरा सुन्न आग्रह
गर्छु ।
विद्यालय के हो ? शिक्षक के हुन् ? विद्यालय कस्तो हुनु पर्छ र शिक्षक
कस्तो ? यी प्रश्नको उत्तर बालबालिकामा भरिदिने त हामी अभिभावक नै हौं ।
हामीले नै बालबालिकालाई विद्यालयप्रतिको उनीहरुको बुझाइ नकारात्मक
बनाइरहेका छौं । त्यसबाट बालबालिकाले शिक्षक र विद्यार्थीलाई कसरी
बुझिरहेका छन् भन्ने थाह पाउन कुनै कठिन छैन ।
भुत त एउटा बिम्ब मात्रै हो । म यही बिम्ब मार्फत् उक्त कुराका विषयका
केही विषय उठान गर्छु । डर र भुतका कुरा नेपाली समाजका अधिकांश शिक्षित
अशिक्षित बुझेका नवुझेका सबै अभिभावकहरु बच्चालाई डर देखाउनु पर्यो भने
स्कुल र शिक्षकको कुरा गर्छौ । भनेको नमान्ने, तँ बदमाश, तँलाई स्कुल
पठाइदिन्छु अनि ठिक होलास् । तँलाई सर मिससँग भन्दिन्छु । सरले र मिसले
पिटनुहुन्छ अनि थाहा होला ! भनेर तर्साइरहेका हुन्छौँ ।
निजी विद्यालयमा पढाउनेले होस्टेल राखिदिन्छौं भन्छौ । कतिपयले त सर र
मिसलाई भेटेर मेरो बच्चा बद्माश भयो, पिट्नु पर्यो समेत भन्न पछि पर्दैनौं ।
अनि कतिपयले सर र मिसले पिटेनन् र बच्चा वद्माश भयो भनेर गुनासो पनि गर्छौ
। हाम्रो देशभरका करिब ९५ प्रतिशत विद्यालय बालबालिकालाई पिट्ने, डर
देखाउने र तर्साउने केन्द्रको रुपमा रहेका छन् । बालबालिका स्कुल नजादैं र
स्कुल र सर र मिसलाई नदेख्दै अभिभावकले स्कुल भनेकै सजायँ दिने र कुट्ने
ठाउँ हो भनेर सिकाइ सकेका हुन्छौं । अर्थात् विद्यालय भुत घर हो भन्ने कुरा
बालबालिकाहरुलाई विद्यालय र शिक्षक प्रति नकारात्मक धारणा बसालेरै शुरु
गरिसकेका हुन्छौं ।
बालबालिकाले स्कुललाई त्यही रुपमा बुझेका हुन्छन् र उनीहरु स्कुल जान
तयार हुँदैनन् । बालबालिका रुदै, चिच्याँउदै र अनुहार विगारेर विद्यालय
पुग्छन् । विद्यालयमा पनि उनीहरुले सोचेजस्तै व्यवहार हुने गर्छ । हामी
हरेक शहरका सडकमा गुडेका स्कुलका बस, बस चढाउन आएका अभिभावक, बसभित्र
रोइरहेका र बस चढ्न नमानिरहेका बालबालिका देखेकै छौं । हाम्रा विद्यालयहरु
बालबालिकाका लागि ज्ञानि बनाउने नाममा बोल्न, खेल्न नदिने जेल जस्ता छन् ।
घरमा बा आमासँग राम्रोसँग बोल्न नसिक्दै स्कुलमा नेपाली बोल्न प्रतिवन्ध
लगाएका छौं । सकेसम्म उनिहरुका बोल्ने, खेल्ने, चल्ने, उफ्रने, दौड्ने
स्वतन्त्रतामा सिक्रि लगाउन सक्यौं भने हामी शिक्षक सफल हुन सक्छौ भन्ने
ठूलो भ्रममा बाँचेको छौँ ।
बच्चालाई सबैकुरा नगर मात्र भन्ने Stop Director भएका छौँ । अनि ठूलो
गुनासो छ हाम्रो, बच्चा स्कुल जान मानेन, अथवा विद्यार्थी स्कुल आएनन् ।
बालबालिकाहरु २, ३ वर्ष नपुग्दै हामीले स्कुल भनेको सजायँ दिने, चल्न
खेल्न, उफ्रन नदिने स्थानको रुपमा चिनाएका छौँ । त्यसैले बालबालिकाहरु
विद्यालयसँग र शिक्षकहरुसँग डराउने भएका छन् । अनि त विद्यालय साना
बालबालिकाहरुका लागि भुत घर र शिक्षकहरु भुत बनिरहेका छौँ ।
सामुदायिक विद्यालयको कुरा गर्ने हो भने करिब ९० प्रतिशत सामुदायिक
विद्यालयमा कक्षा १, २ मा पनि विषय शिक्षण हुने गरेको छ । पाँच वटा विषय
पढाउन बहुरङ्गी पाँचजना शिक्षक जान्छौं । प्रत्येक ४५ मिनेटमा अनि कक्षामा
चुप लाग, हल्ला नगर, तँलाई, पख, अल्छी, भनेको नमान्ने, गृहकार्य नगर्ने
जस्ता हेय र सबै नियन्त्रण मुखी आदेश दिदै भुतको रुपमा बालबालिकाहरुलाई
तर्साउने गरेका छौ ।
एकहप्ता पहिलेमात्र १ जना अभिभावकले सुनाएको कुराले मेरो मथिङ्गल हलचल
भएको छ । नर्सरीमा पढ्ने वहाँको ४ वर्षको छोरीले राती ३ बजे उठेर, मेरो
होमवर्क सकिएको छैन, भोलि मिसले पिट्नुहुन्छ भन्दै चिच्याइन रे ! यो
अवस्थामा त्यो चार वर्षे बच्चालाई राती ३ बजे तर्साउने ती मिस पनि त भुत नै
हुन । होइन र ?
हामी विद्यालयहरुलाई अभिभावकसँगै मिलेर डरको केन्द्र बनाइरहेका छौं ।
दण्ड रहित शिक्षणका कुरा गर्दै बालबालिकालाई तर्साइरहेका छौं । बालमैत्रीका
कुरा गर्दै नियन्त्रणमुखी शिक्षक मैत्री भएका छौं । आफुले मान्नु पर्ने,
आफ्नो निर्देशन पालना गर्नुपर्ने । यसरी हामी बालबालिकालाई के सिकाउँदै छौं
? कस्तो शिक्षा दिइरहेका छौं ?
जानि नजानी हामीले विद्यालय तथा कक्षाकोठाहरुलाई Child Friendly भनि
रहेर Child activity control center का रुपमा विकास गरिरहेका छौँ ।
स्वभाविक हो, सबै अभिभावकले बुझ्दैनन् । जो मेरो बच्चा वदमाश भयो पिट्नु
पर्यो भनेर आँउछन् उनीहरुलाई सम्झाएर घरमा पनि दण्डित नगर्न र विद्यालयमा
पनि दण्डित नगरिने कुरा सिकाउने भूमिका भएका शिक्षक, अभिभावकको मन जित्न
बालबालिकाको डराउने वस्तु भुत र भुत घर बनिरहेका छौं, बनाइरहेका छौं ।
चिन्तन र वहस गर्नु पर्ने जरुरी भएको हो कि ! कहिलेसम्म विद्यालयलाई भुत घर बनाइरहने ।
अभिभावकका चाहना
बालबालिकाको सिकाइको सन्दर्भमा हाम्रो नेपाली समाज कुरुप भैसकेको छ
जस्तो लाग्छ मलाई । अभिभावक बच्चा जन्मेर पहिलोपटक रुँदा नै क, ख, A, B, C,
D भनोस भन्ने चाहना गर्न थाले जस्तो लाग्छ । अभिभावकको यही चाहना पूरा
गर्न २ वर्ष नपुग्दैबाट निजी मन्टेसरीले A, B, C, D को रटान लगाउन थालेका
छन् ।
सामुदायिक विद्यालयका बालविकास केन्द्रमा वर्षभरी क, ख र A, B, C, D
पढाएर वार्षिक परीक्षा लिएर पास फेल गरेको देख्दा उदेक लाग्छ मलाई ।
देशभरका करिब ३० हजार सामुदायिक बालविकास केन्द्रमध्ये १०० वटा पनि
छैनन् होला जहाँ तोकिएका क्रियाकलाप हुने गरेको होस् । हामी शहरमा व्यस्त
हुने बाबु आमाका लागि १८ महिनाबाट नै मन्टेसरी र नर्सरी स्कुल खुलेका छन् ।
हाम्रा लागि खेल्न नखोज्ने, कोठामा बसिरहने, बाहिर जान नखोज्ने, झगडा
नगर्ने, मूर्तिजस्ता चुपचाप छोराछोरी चाहिएको छ । त्यही चाहना बुझेर होला २
वर्षबाटै बालबालिकाले मन्टेसवरी स्कुलबाट घर आउँदा गृहकार्य बोकेर आउँछन् ।
हामी कसैलाई यी कुरा सहज लाग्लान्, स्वभाविक लाग्लान् तर यसले भोलि त्यो
बच्चा कस्तो बन्ला भन्नेतिर हामीलाई ध्यान छैन । उसको विद्यालय प्रतिको
दृष्टिकोण के बन्ला ?
म साना बालबालिकालाई गृहकार्य नदिने र परीक्षा नलिने भनेर लेख्दै,
बोल्दै, कराउँदै हिँड्छु । तर जतिखेर मेरो नर्सरीमा पढ्ने ३ वर्षको छोरीले
लामो विदा हुँदा ५ पानाको गृहकार्यको पोको बोकेर आउँछिन, अर्को हप्ताबाट
परीक्षा छ, भन्ने सन्देश भएको सानो सूचना ल्याएर हातमा थमाँउछिन र केही
दिनपछि उनको कक्षाभरिका १५ जनासँग तुलना गरिएको उनको परीक्षाको नतिजा हेर्न
बाध्य हुन्छु, मलाई लाग्छ हामी कता जादैं छौं !
जब छोरीले पाँच पानाको गृहकार्य पोको लिएर आइन, मेरो विद्रोहभावले त्यो
च्यातेर फाल्छु भन्यो, तर फेरी विदा पछि छोरी स्कुल जाँदा र गृहकार्य किन
नगरेको भनेर सोध्दा उनको मनोदशा कस्तो होला ? उनले मेरो बाबाले च्यातेर
फालिदिनु भयो, मैले गरिन त भन्दिनन् र त्यसो भने पनि सुख पाउदिनन् होला ।
अनि त म रुझेको विरालो जस्तै बनेर उनलाई गृहकार्य गर्न सघाए ।
हाम्रो शिक्षण सिकाइ पद्धति, हाम्रा विद्यालयका गतिविधि, त्यस्ता
गतिविधिलाई प्रोत्साहित गर्ने पाठ्यक्रम र परीक्षा प्रणाली, हामी अभिभावकको
मनोदशा सुधार नगरी भोलिको असल, निडर र आत्मविश्वासी छोराछोरी तयार गर्न
असम्भव हुने छ । www.edukhabar.com मा प्रकाशित ।
achdevi38@yahoo.com