शंकरलालले शहरमा कलेज पढ्दै गरेको वखत शिक्षक सेवा आयोग खुल्यो । शंकरलालको घरबाट बाको फोन आयो । माष्टरको जागिर खुलेको छ रे, फारम भर्नु है । शंकरलाल बा को आज्ञाकारी छोरो, फारम भरे, बजारका २, ४ वटा गाइड पढे, ट्युशन पनि पढे । लिखित परीक्षा, अन्तर्वाता, जिल्लाको सिफारिस र पदस्थापन हुँदै मध्य नेपालको पहाडको विकट र दुर्गम गाँउमा उनको माष्टरी जाँगिर शुरु भयो ।  अब उनी शंकरलाल बाट शंकर सर भए ।

            पहिलो दिन सदरमुकामबाट जीप चढेर १ दिनको बाटोमा बास बस्नुभयो शंकर सर । अर्को दिन विहानै उठेर ६ घण्टा हिँडेपछि११ बजेतिर पदस्थापन भएको विद्यालयमा पुग्नुभयो । सिफारिस पत्र पेस गरेर निवेदन लेखेपछि प्रधानाध्यापकले हाँजिर वहीमा नाम लेखिदिएर हाँजिर गर्ने ठाँउ वताइदिनु भयो । पहिलो दिनको जागिरमा हाँजिर गरेपछि शंकर सर भित्रैदेखि गमक्क परेजस्तो देखिनु भयो । औपचारिक कुराकानी, परिचय भयो । घर कता, जहान परिवार, पढाइ यस्तै विभिन्न कुरामा दिन वित्यो । पहिलो दिन पढाउने कुरा भएन ।
आज साँझ कता बस्ने ? साढे तीन बजे प्रधानाध्यापकको प्रश्नले बल्ल शंकर सरको दिनभरी गमक्क परेको मन खङ्ग्र भयो । खैँ त सर हजुँर यहाँको वारेमा जानकार हुनुहुन्छ । मैले त लगाउने कपडा मात्र लिएर आएको छु, होटल त छैनन होला, यसो गाँउतिर कसैकोमा बस्ने व्यवस्था भए हुन्थ्यो । दुई तीन दिनको लागि यतै नजिकै बस्दै गरौँ अनि लामो समयको लागि खोज्दै गरौला भनेर प्रधानाध्यापकले विद्यालय नजिकै एउटा घरमा खाने वस्ने व्यवस्था मिलाइदिनु भयो । शंकर सर प्रधानाध्यापकको यस्तो सहयोगबाट साच्चिकै प्रभावित हुनु भयो ।
भोलि विहान ठिक ९:५५ बजे शंकर सर विद्यालय पुग्नु भयो । विद्यालय खुलेकै थिएन । कुनै विद्यार्थी पनि आएका थिएनन् । विद्यालयमा टहलिदै गर्दा १०:१५ मा पालेदाइले विद्यालय खोल्नु भयो । विद्यार्थी १५, २० जना जति आइपुगेका थिए । शंकर सरले पाले दाइलाई सोध्नु भयो । दाइ किन यति ढिला गर्नु भएको ? विद्यार्थी पनि आएका छैनन त ? सर हजुर नयाँ भएर । स्कुल खुल्ने बेला भर्खर त हुँदैछ, खै केटाकेटी आएका छैनन, सरहरु पनि आउनु भएको छैन । ११ बजेसम्म सबै आइपुग्नु हुन्छ ।
            पाले दाइले भने अनुसार ११ बजेसम्म सबै शिक्षक विद्यार्थी आइपुगे । विद्यालयको नियमति गतिविधि शुरु भयो । आज शंकर सरको पढाउने रुटिन पनि तयार भयो । शंकर सरलाई दिनभर खस खस लागिरह्यो । साँझ पनि ३:३० तिरै विद्यालय विदा भयो । अरु सबैजना हाइ हेलो गर्दै आ आफ्नो बाटो लागेपछि ढोका बन्द गर्दै गरेका पालेदाइलाई शंकर सरले फेरी सोध्नु भयो, दाइ किन यति चाडै विदा भएको । यहाँ त सधै यस्तै त हो, हजुर नयाँ भएर ।
अर्को दिन सधै जस्तै ११ बजे नियमितता शुरु भयो । पहिलो घण्टी शंकर सरको हाँजिर गर्ने पालो । कक्षामा गएर हाँजिर लिदै गर्दा रजिष्ट्ररका आधा विद्यार्थी पनि नआएका । आउनेहरुको पनि एकदमै धेरै अनियमितता । कक्षामा सामान्य परिचय, पाठको अवस्था लगायतका केही पढाइका कुरा भए, घण्टी सकियो । दिँउसोको खाजा समयमा अर्का एक शिक्षकसँग हाँजिर गर्दाको अवस्थाका वारेमा जिज्ञासा राख्नु भयो । यहाँ यस्तै हो सर, आउदैनन त के गर्ने आएकालाई पढाउने त हो, हजुर नयाँ भएर अनौठो लाग्यो होला, विस्तारै वानी लाग्छ ।
दिन वित्दै गए । शंकर सरले जति पनि जिज्ञासा राख्नु भयो, सबै प्रश्नको उत्तर यहाँ यस्तै हो, हजुर नयाँ भएर भन्ने जवाफ पाउनु भयो । समय वित्दै जाँदा त्रैमासिक परीक्षाका लागि विद्यालयमा परीक्षा तालिका स्रोत केन्द्रबाट आयो, प्रश्न स्रोतकेन्द्रबाट ल्याउने कुरा भयो ।  विद्यालयमा परीक्षाको तयारी विदा हुने भयो । शंकर सरले कलेजमा पढे अनुसार त्रैमासिक परीक्षा निमार्णात्मक हुने हुँदा औपचारिक हुँदैन, शिक्षकले आफ्नो विषयमा आफ्नो इच्छा अनुसार र विद्यालयले पनि आफ्नो अनुकूलमा परीक्षा लिन सक्छ भनेर पढेको कुरा मिलेन । यो जिज्ञासा शंकर सरले प्रधानाध्यापकसँग पनि राख्नु भयो । प्रधानाध्यापकको जवाफ पनि उस्तै थियो, हजुर नयाँ भएर । यो त यसरी नै गर्ने हो, पढेका कुरा कहाँ मिल्छन र ! जिल्लाभरी सबैमा यस्तै हुन्छ सर ।
शंकर सरले ऐन, नियमावली, नीति, निर्देशिका सबै कण्ठ पारेर परीक्षा पास गर्नु भएको  । विद्यालयमा जे कुरा वहाँको ज्ञानभन्दा विपरित वा नमिल्दा हुन्थे र जिज्ञासा राख्नु हुन्थ्यो, सबैको तयारी उत्तर हुन्थ्यो, यहाँ यस्तै हो, हजुर नयाँ भएर । निरन्तर विद्यार्थी मूल्याङ्कनका कुरा हुन, पाठ्यभार अनुसारको कार्यतालिकाका कुरा हुन, निर्माणात्मक भनिएका त्रैमासिक परीक्षाका कुरा हुन, वार्षिक परीक्षाका मर्यादाका कुरा हुन, विद्यालय खुल्ने र बन्द हुने कुरा हुन वा २, ४ दिन अनुपस्थित भएर हाँजिर लगाउने कुरा नै किन नहुन ।
कक्षा ८ का विद्यार्थी गणितमा निकै कमजोर भएको र उनीहरुले कक्षा ५ का लागि तोकिए वराबरका गणितका विषयवस्तु नजानेको कुराले शंकर सरलाई पिरोलिरहेको थियो । एकदिन अफिस कक्षमा यो कुरा सुनाउनु भयो । सर किन चिन्ता लिनुहुन्छ, सबै विषयमा त्यस्तै हो । जिल्लास्तरीय परीक्षामा सबै पास भइहाल्छन् अनि यहाँबाट अर्को माविमा जान्छन् ।  अब भने शंकर सरलाई पनि बानी लागि सक्यो, यहाँ त यस्तै हो ।
यहाँ त यस्तै हो, हजुर नयाँ भएर ।
www.edukhabar.com मा प्रकाशित ।
deviramac@outlook.com


0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.