गतहप्ता मात्र राजधानीमा नाम चलेका दुई ठूला निजी विद्यालयहरुका एक छात्र र एक छात्रले आत्महत्या गरे । व्यक्तिले किन आत्महत्या गर्छ भन्ने वारेमा फरक फरक दृष्टिकोण होलान । मनोवैज्ञानिकहरुले व्यक्तिको संवेगात्मक पक्षका कुरा गर्लान । समाजशास्त्रीले स्वभाविक सामाजिक घटनाका रुपमा हेर्लान । राजनीतिशास्त्रीले भविष्य सुनिश्चित नदेखेको ठान्लान ।

Related imageअरु शास्त्रका पनि आआफ्नै तर्क होलान । विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीले गरेको आत्महत्यालाई शिक्षाशास्त्रीहरुले पनि फरक ढंगले व्याख्या गर्लान । कसैले विद्यालयले आवश्यक सल्लाह र परामर्श सेवा नदिएको भन्लान त कसैले परिवारले आवश्यक ध्यान नदिएको । कसैले कक्षामा फेल हुँदा अथवा कमजोर उपलब्धि आउँदाको हिनतावोधले भन्लान त कसैले साथीहरुको बीचमा आफूलाई प्रस्तुत गर्न कठिनाई भएर भन्लान । तर्क विर्तक धेरै गर्न सकिएला, धेरै तर्क जन्मेलान ।
व्यक्तिले आत्महत्या गर्ने कारण व्यक्तिपिच्छे फरक हुन्छ किनकी सबै व्यक्तिमा एकै खालको संवेग हुँदैन । सामान्यजनले बुझ्ने गरी भन्ने हो भने कारण जे सुकै होस, आत्महत्याका लागि व्यक्तिको संवेगात्मक पक्ष अन्तिम निर्णायक हुन्छ । केही वर्ष अगाडी सुर्खेतको एउटा विद्यालयमा प्रार्थना सभामा एकजना विद्यार्थीलाई जुन तवरले गाली गरियो र उनमा हिनताबोध उत्पन्न गराइयो त्यसबाट विक्षिप्त विद्यार्थी भेरीमा हाम फालेर आत्महत्या गरे । के त्यस्तै सजाय र गाली अर्को कुनै विद्यार्थीलाई गरेको भए उसले पनि आत्महत्या गर्दथ्यो त ? गर्न पनि सक्थ्यो तर नगर्ने संभावना बढी हुन्छ किनकी सबैको संवेग एकै प्रकारको हुँदैन ।  कुनै एकजनाका लागि त्यही सानो कारण आत्महत्या गर्ने कारक बनिदिन्छ भने अर्कोका लागि त्यो घटना कुनै सामान्य घटनामात्र ।
जेम्स स्कूलको छात्रका कुरा वा सेन्ट मेरीजकी छात्रा । जे जस्तो व्यवहार भयो र कारणहरु जिम्मेवार छन् त्यस्तै व्यवहार र कारणले अर्को छात्र वा छात्राले आत्महत्या गर्दैन । त्यसैले व्यक्तिपिच्छे फरक फरक व्यवहार गर्न सक्यौ भने मात्र हामी असल शिक्षक र अभिभावक बन्न सक्छौ ।
एकैछिन कक्षाकोठालाई हेरौ, एकजना विद्यार्थी गृहकार्य गरेको हुँदैन तर कक्षाकोठामा बस्दछ र शिक्षकले गृहकार्य खोइ भनेर सोध्दा निर्धक्क भन्छ गरेको छैन, ल्याएको छैन, कापी घरमा छुटेछ यस्तै यस्तै । कारण जे पनि हुन सक्छन तर उसले कक्षा छोड्दैन र भन्छ छैन, चाहे कक्षाका सबै साथीहरु उसले छैन भन्दा गलल किन नहाँसुन । तर अर्को एउटा यस्तो विद्यार्थी हुन्छ, जसले शिक्षकसँग गृहकार्य गरेको छैन भन्न सक्दैन र कि त ऊ स्कुलै आउदैन, कि त त्यो सम्बन्धित कक्षामात्र छोड्छ वा उसले अरु कुनै विरामीको वहाना बनाउला । यी उदाहरणमा दिइएका २ जनालाई कुनै वहानामा गर्ने सजायको नतिजा पक्कै पनि फरक फरक हुन्छ ।
अहिले हामी प्रौढहरु आँफू सानो हुँदादेखि किशोरावस्थासम्म गरेका उदण्ड वा वदमासीका कथा सुनाउँदै हिड्छौ । कतिपयले त त्यस्तै उदण्ड र वदमासीका कथा लेखेर हजारौ पाठकको मन जितेर लेखक बनेका छौ । तर हामी हाम्रा विद्यार्थी वा छोराछोरीले गर्ने त्यस्ता उदण्ड वा वदमाशीका कुरा देख्न सुन्न सक्दैनौ । बालबालिकाहुँदा र किशोर हुँदा व्यक्तिले केही उदण्ड वा वदमाशी गरेर रमाइलो गर्ने स्वभावै हो तर यसलाई जान्ने र नजान्ने सबैले रोक्ने चेष्टा गरेका छौ । यदि  रोक्न सकिएन भने हामीहरुदा उनीहरुलाई गाली गरेर, दण्डीत गरेर बहादुर बन्ने प्रयास गर्छौ । 
स्कुल पढ्दा होस वा कलेज केही न केही वदमाशी र उदण्ड गर्नुु उनिहरुको उमेरगत स्वभाविक मानव विकास प्रव्रिmया हो भन्ने रुपमा लियौ भने त्यसलाई रोक्न पनि सक्छौ । तर त्यसप्रकारका व्यवहारलाई पूर्ण प्रतिबन्द लगायौ भने  अर्कै रुपमा र अनत्र ठाँउमा अप्रत्यासित वा अनपेक्षित रुपमा प्रकट हुन पुग्छ । हामी सबैलाई थाहा छ, चलचित्रहरु हेर्ने सबैभन्दा बढी रहर किशोरावस्थामै हुन्छ, तर त्यो रहर रोक्न हलमा पुलिस पठाउने धृष्टतामा लाग्छौ हामी । यसको साटो कस्ता फिल्म हेर्ने, त्यसलाई कसरी बुझ्ने भनेर सिकाउने आफ्नो दायित्व ठान्दैनौ हामीले । गलत कार्य हुनबाट रोक्नुपर्छ तर त्यसको बहानामा प्रतिबन्ध लगाउने कार्य असल होइन ।
अहिले धेरै अभिभावक र शिक्षकहरु किशोर किशोरीहरुले फेसबुक चलाएको मन पराउँदैनौ । फेसबुक चलाउन नदिन पाए ठुलै सफलता र बहादुरी ठान्छौ । कसैका छोराछोरीले फेसबुक चलाएन भने ज्ञानीको पगरी गुथाउँछौ । तर फेसबुक कसरी सुरक्षित तरिकाले चलाउने, कस्ता कुरा पोष्ट नगर्ने, कस्ता व्यक्तिलाई साथी नबनाउने, कति समय चलाउने भन्ने सिकाउने दायित्व सम्झिन्नौ ।
यस्ता उदाहरण धेरै छन् र दिन पनि सकिएला, जहाँ हामीले हाम्रा छोराछोरी र विद्यार्थीलाई प्रतिबन्ध लगाउने प्रयास गरेका छौ । सबै कुरा नगर मात्र भन्ने क्तयउ मष्चभअतयच  बनिरहेका छौं । हामीलाई रोबोट जस्ता छोराछोरी चाहिएको छ, भनेको कुरा टक टक मानुन । टिभि नहेरुन, फेसबुक नचलाउन । टाप लगाएको घोडाजस्तो खुरुखुरु स्कुल जाउन, घर आउन, दिएको कुरा खाउन यस्तै यस्तै धेरै धेरै ।
तर यो पुरा हुन नसक्ने इच्छा हो हाम्रो । हामीले अरुको इच्छाविपरित गरिरहेका क्रियाकलापको नतिजाप्रति हामी वेखवर छौ र थाहा भए पनि थाहा नभएजस्तो गरिरहेका छौ । हामी सबै अभिभावकलाई आफ्ना छोराछोरी कक्षामा प्रथम, द्धितीय वा तृतीय भइदिनु परेको छ । प्रवेशिका परीक्षामा विशिष्ट श्रेणी वा जीपिए चार ल्याइदिनु परेको छ । डाक्टर, इन्जिनियर बन्दिनु परेको छ । विद्यालयमा शिक्षकले तपाँइको छोराछारी निकै ज्ञानी छ, असल छ भनेको मान्छ भन्ने सुन्नु परेको छ ।
यही भ्रमका कारण अभिभावक र छोराछोरीबीचको सम्बन्ध, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध एक अर्काका असल कुरा पनि सुन्न नसक्ने भएको छ । आफ्ना छोराछोरीले गलत कार्य गर्दै गर्दैनन र उनीहरु खराब बाटोमा लाग्दैनन् भन्ने भ्रममा अभिभावक छौँ र उनीहरुको सामान्य निगरानी पनि गर्दैनौ । यसकै कारण कतिपय किशोर किशोरीहरु गलत बाटोमा अगाडी बढीरहेका हुन्छन् । जतिखेर अभिभावकले यो कुरा थाहा पाउँछौ समय वितिसकेको हुन्छ । बालबालिका तथा किशोर किशोरीका कुरा सुन्न नसक्ने, उनीहरुका आवश्यकता र रुचि बुझ्न नसक्ने र बुझे पनि नबुझे जस्तो गर्ने कारणले उनीहरुले आफ्ना कुरा हामीलाई सुनाउँदैनन ।
हरेक व्यक्ति फरक छ, हरेक व्यक्तिका संवेगहरु फरक फरक छन् भन्ने बुझ्न र सोही अनुसार व्यवहार गर्न जरुरी छ । यति कुरा विद्यालय, शिक्षक र अभिभावकले बुझ्न कुनै ज्ञानको सिद्धान्त पढ्नु पर्दैन । कुनै विद्यार्थी वदमाश भयो भने स्कुलले अनुशासन इन्चार्ज (बजारका डन) प्रयोग गर्ने हो कि उ किन त्यसो गर्दैछ भनेर बुझ्ने र केही हदसम्म त्यसलाई स्वीकार पनि गर्ने हो ? अलिकति लामो कपाल पाल्दैमा पढाइ विग्रन्छ ? अलिकति कपाल छोटा बनाउँदैमा पढ्नै सक्दैन ? के विद्यार्थीले फिल्म हेर्नै हुँदैन ? फेसबुक चलाउनै हुँदैन त ? तर्क आफ्ना आफ्ना होलान । प्रतिबन्ध लगाउने हो कि सुरक्षित बनाउने । दुर्घटना हुन्छ भनेर गाडी नै नचढ्ने हो कि सुरक्षित तरिकाले गाडी चढ्ने ?
यी सन्दर्भ र पृष्ठभूमिका कुरा भए । तर यीनै कुराहरु जिम्मेवार छन् हाम्रा किशोर किशोरीहरुले आत्महत्याको बाटो रोज्नुमा । एउटा विद्यार्थीले एउटा जाँच दिदैँन, के उसले त्यस्तो अपराध गर्यो, र उसको पुरै अभिभावक बोलाएर, सँगै राखेर उसलाई जाँच दिनुपर्छ भनेर बाध्य पारिन्छ । तर्क जे पनि गर्न सकिएला । एउटा जाँच नदिए के हुन्छ ? यो वर्ष वार्षिक परीक्षा नै नदेला, के फरक पर्छ ? अभिभावकबाट ठूलो रकम उठाएको भरमा हरेक विद्यालयले सबै विद्यार्थीलाई रोबोट बनाउने, प्रश्नका उत्तर घोटेर निलाउने र परीक्षामा ओकल्न लगाउने संस्कार र त्यही संस्कारलाई उत्कृष्ट मान्ने हाम्रो बुझाइमा परिवर्तन नआउँदा सम्म यस्ता घटना कम गर्न सकिदैन ।
विद्यार्थीलाई सस्पेन्स गरेको भन्ने अभिभावकको र गरेको होइन भन्ने स्कुलको तर्क आइरहेका छन् तर एउटा छात्रले आत्महत्या त ग¥यो । भाषामा धेरैलाई धेरैथरी पिडा भए होला तर छात्रको आमाबाबुको पिडालाई हामी मापन गर्न सक्दैनौ र अनुभूत पनि । विद्यालयले सस्पेन्स ग¥यो गरेन तर्क नगरौ तर विद्यालयमा सस्पेन्स भन्ने व्यवस्था आयो कहाँबाट । अनुशासन इन्चार्ज आयो कहाँबाट । यी सबै विद्यालय रोबोट उत्पादन गर्ने कारखाना बन्दै गर्दा आएका अवधारणा हुन ।
एउटा असल विद्यालयले हरेक विद्यार्थीको संवेग अनुसार व्यवहार गर्न सक्नु पर्छ । उदण्ड र वदमाशी स्वभाविक व्रिmया हो, त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । ज्ञान पिलाउने बहानामा भनेको मान्ने आज्ञाकारी रोबोट उत्पादन गर्ने भ्रमबाट मुक्त हुनुपर्छ । चुल्ठे, मुन्द्रे अनुशासन इन्चार्ज र सस्पेन्स, एकदिन विद्यालय नआउँदा नै कोकोहोलो मच्चाउने,  फिल्महलमा पुलिस पठाउने, विद्यालयमा कपाल काटीदिएर अनुशासित बनाउने बहानामा किशोरकिशोरीका स्वभाविक रुचिहरु रोक्न सकिदैन् । त्यो भ्रममा कोही नपरौँ ।
कारण जे सुकै र जस्तासुकै हुन, जिम्मेवार जो जो हुन तर विद्यालयको नाम जोडिएर आउने आत्महत्यामा देशको लागि असल नागरिक उत्पादन गर्ने, संसारको सबैभन्दा राम्रो गुणस्तरको शिक्षा दिएको छु भनेर झ्याली ठटाउने विद्यालय नै जिम्मेवार छन् । तिम्रो संसारभर नभएको गुणस्तरीय शिक्षाले विद्यार्थीलाई आत्महत्या गर्न सिकाएको रहेछ भनेर बुझ्न पाउने मेरो अधिकार माथि प्रश्न नगर । तिम्रो शिक्षाले मान्छेलाई हिनताबोध गराई मर्न सिकाएको रहेछ भन्ने मेरो निश्कर्ष माथि तिमी कुनै तर्क नगर । तिम्रो गुणस्तरीय शिक्षामा मृत्यु, हिनताबोध र आत्मग्लानीको विष घुलेको छ । www.edukhabar.com मा प्रकाशित ।
धन्यबाद ।   

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.