अघिल्ला दुई श्रृङ्खलामा अभिभावकका लागि परीक्षाको नतिजाले कसरी अर्थ राखेन भन्ने
सन्दर्भ र विद्यालयहरुमा परीक्षा लिने पद्धति तथा परीक्षामा प्रयोग हुने
प्रश्न निर्माण प्रचलन, प्रश्नको गुणस्तर र अन्य केही पक्षको वारेमा चर्चा
गरिएको थियो । औचित्य छैन परीक्षा श्रृङ्खला अन्र्तगत यो तेस्रो श्रृङ्खला हो ।

यस अघिका श्रृङ्खला पढ्नुहोस्
त्रैमासिक परीक्षा : प्रश्न औचित्यको १
त्रैमासिक परीक्षा : प्रश्न औचित्यको २
यो श्रृङ्खलामा, विद्यालयमा परीक्षाको क्रममा र परीक्षा सकिए पश्चात
हुने केही क्रियाकलाप र समग्रमा हामीले लिएका परीक्षा किन उपयोगी हुन
सकेनन् भन्ने सन्दर्भमा चर्चा गर्दैछु ।
अनौपचारिक कि औपचारिक
निर्माणात्मक परीक्षाहरु सिद्धान्तत अनौपचारिक हुन्छन् । यस्ता परीक्षा
शिक्षकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि लिन सक्छ । त्यसैले
विद्यार्थीको सिकाइलाई सहयोग गर्न, उनीहरुका समस्या पत्ता लगाउन, व्यक्तिगत
रुपमा समस्या समाधानका लागि सहयोग गर्न परीक्षा लिनु पर्छ । तर यी भनाई
सबै सिद्धान्तमा मात्र भए व्यवहारमा प्रयोग हुन सकेनन् । हामीले गर्ने
गरेका त्रैमासिक परीक्षाहरु निर्माणात्मक हुन भनिन्छ, तर ती परीक्षा धेरै
औपचारिक हुन्छन् ।
सबै विद्यालयले त होइन होला तर करिब ७० प्रतिशत विद्यालयमा त्रैमासिक
परीक्षा हुनु अगाडि १, २ दिन विदा हुन्छ । कतै कतै त परीक्षा सकिए पछि पनि
विदा हुने गरेको देखिन्छ । साना कक्षाका परीक्षा एक डेढ वा दुई घण्टाका
हुन्छन् र ठूला कक्षाका पनि दुई तिन घण्टाका हुन्छन् । वर्षमा ३ वटा
त्रैमासिक परीक्षामा करिब २० दिन पठन पाठन हुँदैन । परीक्षामा सिट
प्लानिङ, गरिन्छ । गार्ड बसिन्छ । परीक्षाको घण्टा अनुसार घण्टी बजाइन्छ र
समय सकिएपछि लेख्दै गरेको विद्यार्थीको उत्तर पुस्तिका खोसिन्छ । यदि
हाम्रा परीक्षा निर्माणात्मक हुन भने यी सब किन गरिन्छ ? किन यति धेरै
औपचारिकता चाहिन्छ, यी परीक्षाहरुमा ?
सिकाइ समस्या पत्ता लगाएर सिकाउने हाम्रो उद्देश्य हो भने, यो सब
रङ्गमञ्चमा मञ्चन गर्ने नाटक जस्तो औपचारिक किन गर्ने ? निर्माणात्मक हो
भने अनौपचारिक नै गरौँ नभए यसलाई निर्माणात्मक नै नभनौँ कि ?
परीक्षापछि के ?
माथि नै उल्लेख गरि सकियो कि हाम्रा परीक्षा अत्यन्तै औपचारिक हुन्छन् ।
त्यसैले परीक्षाको समय तालिका तयार हुँदा नै पुनः विद्यालय सञ्चालन कहिले
हुने भन्ने निर्धारण गरिएको हुन्छ । ठूला कक्षाको ८, ९ दिन परीक्षा नसकिदा
सम्म त साना कक्षाको ४ दिन विदा नै हुन्छ । जब विद्यालय खुल्छ, हाम्रो
नियमित पठन पाठन शुरु हुन्छ । एक दुइ वा तीन दिन पछि नतिजा सुनाइन्छ ।
उत्तरपुस्तिका परीक्षण सकेसम्म छिटो सक्ने अभियान हुन्छ । कार्यालय कक्षमा
प्रअको निर्देशन जारी हुन्छ, कापी छिटो जाँच्नु पर्यो रिजल्ट निकाल्न भनेर ।
भ्याइ नभ्याइ गरेर कापी जाँच्ने, विद्यार्थी अनुसार नम्बर निकाल्ने र प्रअ
लाई बुझाउने । प्रअको नजरमा कापी छिटो जाँचेर सकाउने शिक्षक जाँगरिला र
काम गर्नेमा दर्ज भइन्छ ।
नतिजाको रजिष्ट्रर : कति धेरै मेहनत भएको छ यो रजिष्टर तयार गर्न । तर
के कक्षामा छ, सात, आठ विषय लागेका विद्यार्थीका लागि थप सहयोग हुन्छ त ?
हरेक कक्षाको प्रथम, द्धितीय र तृतीय छुट्टाइन्छ । पास फेल छुट्टाइन्छ ।
घण्टौँ र कैयौँ दिन लगाएर नतिजा तयार हुन्छ । अनि नतिजा प्रकाशन हुन्छ ।
नतिजा प्रकाशन भएको २, ३ दिनसम्म पास हुने र फेल हुनेको चर्चा चलिरहन्छ ।
तर चर्चा हुँदैन को के नजानेर फेल भयो वा को के जानेर पास भएछ । हामीलाई
थाहै हुँदैन अनि वास्तै पनि हुँदैन विद्यार्थीले के के विषयवस्तु बुझेनछन् र
त्यो फेरी पढाउनु पर्ने भयो । अथवा कुन कुन विद्यार्थीले के के जानेनन
खासै चासो र चिन्ताको विषय हुँदैन ।
यस्तो अपवाद नै होला सायद जहाँ परीक्षा पछि पास फेलको होइन, परीक्षामा
सोधिएका हरेक प्रश्नको उत्तरको वारेमा छलफल गरिन्छ । सायदै भेटिएलान् जहाँ
धेरै विद्यार्थीले नजानेको, मिलाउन नसकेको प्रश्नको वारेमा छलफल हुन्छ,
त्यसको वारेमा चर्चा हुन्छ र त्यो प्रश्नको उत्तर कक्षामा सिकाइएको हुन्छ ।
यी सबै कुरामा हाम्रो चासो छैन । परीक्षा लिइयो, कापी जाँचियो, नम्बर
बुझाइयो । काम सकियो ।
हामी शिक्षकलाई थाहै हुन्छ कोर्ष कहाँ पुगेको छ भन्ने, नभए कोर्ष कहाँ
पुगेको थियो भनेर सोध्छौ । कक्षाका जान्नेमध्येका १,२ जनाले फ्याट्ट भनि
पनि हाल्छन् । अनि शुरु हुन्छ हाम्रो नियमित पाठ । अनि पुरानै निरन्तरता
चलिरहन्छ । कक्षामा रटान लगाएर, असिन पसिन हुँदै, घाँटी सुकुन्जेल चिच्याएर
पढाँउछौ । विद्यार्थीका कुरा सुन्ने फुर्सद नै हुँदैन । सकेसम्म आफैले
व्याख्या गरेर बुझाइदिन्छौ । अनि समूहमा बुझ्यौ भनेर सोध्छौ । दुई, चार जना
जान्नेले बुझिम सर भन्छन् । कक्षाका सबैले बुझिम भनेजस्तै सुनिन्छ, अनि
हामी मख्ख, सबैले बुझे भनेर । ल बाँकी भोलि । यो अभ्यास गरेर आउनु ।
दुई, चार दिन लगाएर नतिजाका ठूला ठेली तयार गर्नु भन्दा परीक्षामा कुनै
पनि विद्यार्थीले मिलाउन नसकेका वा धेरैले विगारेका प्रश्नको उत्तरको
वारेमा छलफल गर्ने गरेको र २,४ कुरा पुनः सिकाएको अवस्था कहाँ पो होला र ।
हाम्रो मेहनत नतिजाका रजिष्ट्रर तयार गर्नमा होइन,कक्षामा चाहिएको छ ।
विद्यार्थीको कमजोरी पहिचान गर्न परीक्षा लिने भन्छौँ तर हरेक दिन
कक्षामा पढाउने शिक्षकले, कमजोर विद्यार्थी पहिचान गर्न परीक्षा लिनुपर्छ
भन्ने कुरामा मलाई विश्वास छैन । त्यो कमजोरलाई सिकाउने जाँगर र सिप
चाहिएको छ हामीमा । यसले जान्दैन भनेर हेपाहा व्यवहार होइन, यसले जान्दैन
त्यसैले यसलाई बढी माया गर्नु पर्छ रबढी सिकाउनु पर्छ भन्ने सोचाई र गराई
चाहिएको छ । कक्षामा जान्नेको होइन, नजान्नेको आवाज सुन्नु परेको छ ।

हो, कुरा जान्नेको पनि सुन्नु पर्छ, तर ध्यान दिएर उसका प्रश्नको जवाफ
दिने गरी नजान्नेको सुन्नु आवश्यक छ । कहिलेकाँही मलाई लाग्छ, हामी
शिक्षकहरु कक्षाका २० जना मध्ये जान्ने ५ जनालाई सिकाउने, औसतका १० देखि
१५ जनालाई पढ पढ भन्ने र बाँकी नजान्ने ५ जनालाई यसले जान्दैन, पढेर
खाँदैन, कतार तिर गए हुन्छ, हलि भए हुन्छ, बाख्रा चराउन गए हुन्छ, यस्ता
गधाले पढेर खान्छन्, अल्छि, दिमाग भए पो, विहे गरे हुन्छ (छात्राका लागि)
भन्ने जस्ता व्यवहार गरिरहेका छौँ । सबैले यसो भन्दैनौ होला, तर ती
नजान्ने ५ जना सधै हामीले वेवास्ता गर्नेहरुमा पर्दछन् । उनीहरुले गरेका
कुनै पनि राम्रा काम (चित्र बनाउँलान्, गीत गाँउलान्, बाजा बजाउँलान्, खेल
खेल्लान, राम्रो नाच्लान् आदि) हामी स्वीकार गर्न सक्दैनौँ र त्यसमा
प्रेरीत गर्न अनि हौसला दिन पनि सक्दैनौ । कक्षामा विषयवस्तु नजानेको
कुराले उनीहरुप्रति हाम्रो व्यवहार सकारात्मक हुनै सक्दैन । जति घोटाए पनि
नहुँने भन्ने तर्फ लाग्छौ ।
मेहनत गर्छौ तर किन ?
यो आलेखमा उल्लेख गरिएका कुराहरु सबै विद्यालयसँग सामन्यीकरण गरिएको छैन
। धेरैसँग मिल्ला । तर कतिपय विद्यालयका शिक्षकले धेरै मेहनत गरेका पनि
छन् । कतै कतै त त्यो मेहनतलाई हेर्दा साच्चिकै नतमस्तक नै हुन मन लाग्छ ।
तर त्यो मेहनतको नतिजा नदेख्दा दुःख लाग्छ ।
मेहनत त धेरै भएको छ, त्यसले खास सुधारका काम गरेन कि भन्ने चासो र चिन्ता
हो । विज्ञानको भाषामा भन्ने हो भने कामै भएन । थुप्रै न्युटन बल खर्च भयो
तर पिण्ड कतै पनि सरेन । धेरै मेहनत भयो तर त्यसले सिकाइमा खासै सहयोग गरेन
।

यी तस्वीर हेर्ने हो भने एकछिन आहा कति राम्रो काम, हरेक विद्यार्थीलाई
उसको नतिजा दिइएको छ र सुझाव पनि । तर के त्यसले काम गर्ला ? प्रश्न यत्ति
हो । पहिलो तस्वीर कक्षा २ को विद्यार्थीको नतिजा हो । त्यो सानो बच्चाले
यसबाट के बुझ्ला ? राम्रो छ । अझै राम्रोसँग पढ । पहिलो श्रृङ्खलामा
अभिभावकलाई भनेजस्तै अझ पढ भनेर उसले के बुझ्छ । के हो राम्रोसँग पढ्ने ?
चारवटा विषयमा ए प्लस त आएन, अझ नेपालीमा त बी प्लस मात्र आयो । के नजानेर
यस्तो भयो । कक्षा २ को नेपालीमा शब्द पढ्न नसकेको हो कि, संयुक्त अक्षर
पढ्न नसकेको हो कि, के भएको ? उसलाई के कुरामा सहयोगको खाँचो छ, शिक्षकले
के कुरामा सघाउने । यहाँ त खाली सामान्य र औपचारिकता मात्र पुरा भयो ।
हेर्दा त यो सारै राम्रो देखियो तर यसमा शिक्षकले गरेको मेहनतले थप के
सुधार होला ? म विश्वास गर्दिन ।
पछिल्ला २ तस्वीर कक्षा १० का विद्यार्थीको हो । अब एकछिन विचार गरौँ,
के कक्षा १० को विद्यार्थीलाई तिमी कमजोर छौँ भनेर भनिरहन पर्छ र ? मैले
अवलोकन गरेका केही कक्षाको अनुभवका आधारमा भन्दा बच्चाले आफूले नजान्ने
कुरा त कक्षा १ कै वर्षको अन्तिमतिर थाहा पाइसक्ने रहेछ । कक्षामा केही
कुरा सोध्दा, उसले जानेको छ, भनेर जान्नेतर्फ सङ्केत गर्छ । माथिको
नतिजाबाटै थाहा हुन्छ, नतिजा राम्रो आएन भन्ने त तल लेख्नै पर्दैन । अनि
हामीले तल सुझाव त्यसरी लेखेर विद्यार्थीले के बुझ्ने ? यसरी गर्नु र
नगर्नुको के अर्थ होला ? हामीले मेहनत गर्यौ तर हाम्रो यो मेहनत कति काम
लाग्ला त ? किन यसरी सबै विषयको मार्कसिट बनाएर बाँड्नु परेको ? एकछिन
सोचौँ त ।
गर्ने के त ?
परीक्षा लिएपछि कोर्षमा होइन, प्रश्नपत्रमा जाँउ । कापी बाँडौ । उत्तरमा
छलफल गरौँ । के पुगेन । के मिलेन । के लेख्नु पर्थ्यो । कसरी लेख्नु
पथ्र्यो । कमजोरी खोजौ । सुधार खोजौ । हामीले परीक्षा अरुका लागि लिइदिएको
हो र ? पक्कै होइन । यदि सिकाइका लागि र हाम्रा लागि लिएको भए २,४ दिन किन
परीक्षाकै वारेमा कुरा नगर्ने त । कसको कुन प्रश्न मिलेन । सबैको कुन
प्रश्न मिलेन । सबैको कुन मिल्यो । हरेकको उत्तर के लेख्नु पथ्र्यो । कति
लेख्दा कति नम्बर आँउछ । पुरै नम्बर ल्याउन कति र के लेख्नु पर्छ ? भन्ने
छलफल चलाउनु आवश्यक छ ।
लब्धाङ्क पत्र बनाउने समय यसमा खर्च गर्न सकियो भने त्यो धेरै
प्रभावकारी हुन्थ्यो कि ! परीक्षामा के सोधियो, कक्षामा के पढाइ भएको
थियो, र विद्यार्थिले उत्तर के लेखे, विद्यार्थीसँगै कक्षामै छलफल गरौँ ।
नजान्नेलाई नहेपौ । उसले नजान्नु भनेको मैले सिकाउन नसक्नु पनि हो, भन्ने
विचार गरौँ । मेरो सिकाउने तरिका मिलेन कि भनेर पनि हेरौँ । परीक्षाका
प्रश्न विद्यालयमा नै तयार गरौँ । विद्यालयले आफ्नो अनुकूल परीक्षा लिउँ । छ
घण्टाको विद्यालय समयमा ३ घण्टा कक्षामा परीक्षाका प्रश्न र तीनको उत्तरका
कुरा गरौँ । परीक्षालाई शिक्षण सिकाइको दैनिक क्रियाकलापमा मिसाइदिँउ ।
विद्यालय स्तरमा परीक्षा लिदाँ खर्चिलो हुन्छ, भन्ने पनि तर्क हुन सक्छ ।
तर यदि हामीले साच्चिकै विद्यार्थीको सिकाइ र उनीहरुका कमजोरी सुधार
गर्नेमा ध्यान दिने हो भने प्रश्न छाप्नु पनि पर्दैन, टाइप गर्नु पनि
पर्दैन । परीक्षाको समय तालिका पनि बनाउनु पर्दैन भन्ने लाग्छ मलाई ।
परीक्षालाई सिकाइकै एक अभिन्न अङ्गका रुपमा स्वीकार गरौँ । हरेक दिन ५, ७
मिनेट परीक्षाका लागि छुट्याउ । परीक्षामा सोध्ने प्रश्न गृहकार्यमा सोधौ ।
हरेक दिन छलफल गराउँ । कुनै दिन नेपालीको गरौ । कुनै दिन अङग्रेजीको गरौ ।
आँफै योजना बनाउ । आफै तालिका बनाउ । पाठ्यक्रम र सरकारका नीति नियमले
कक्षा ५ सम्म त परीक्षा नगरे पनि हुन्छ भनेकै छ, माथि पनि वार्षिक
परीक्षालाई अनिवार्य गरेको हो ।
निर्माणात्मक परीक्षा कसरी लिने, त्यसको अङ्कन कसरी गर्ने, विद्यालयले
आँफै निर्धारण गरौ । मेहनत त गरेकै छौँ तर मेहनत सिकाइमा रुपान्तरण हुन
सकेन । किन भन्ने खोजी गरौँ । हामीसँग थुप्रै प्रमाण छन् १० वर्ष पढेको
एउटा विद्यार्थीले कक्षा १० मा गणितमा ३ नम्बर ल्याउँछ । अङ्ग्रेजीमा ४
नम्बर ल्याउँछ । के उक्त विद्यार्थीलाई तिमी कमजोर छौ, अझ मेहनत गर । यति
भन्नलाई परीक्षा लिनु पर्छ र !
परीक्षा लिनु आँफैमा नराम्रो त होइन, तर परीक्षाका लागि खर्च गरेको समय,
त्यसमा खर्च गरेको स्रोत साधन र हाम्रो मेहनतले के विद्यार्थीको सिकाइ
सुधार भएको छ त ? विचार गरौँ त । यो सब कसैले गर भनेकोले मात्र गरेको हो
कि, हामीले हाम्रा लागि गरेको हो ? हामीले हाम्रा लागि गरेको हो भने यसको
उपयोगिता पनि खोजौं ।
हामी आँफुले केही नगर्ने, जसले जे जे गर, जसरी गर भन्छ, त्यही मात्र र
त्यसरी मात्रै गर्ने भएका छौँ । कतिपयले तर्क गर्छौ, विद्यार्थी परीक्षाको
बेला मात्र आँउछ । परीक्षाको बेला मात्र पढ्छ । त्यसो भएरै हरेक दिन
परीक्षा लिउँ । छलफल गराँउ । सधै पढाइ, सधै परीक्षा भनौँ । यसो गर्दा के
विग्रेला र ? कतिपयको तर्क छ, अभिभावकले परीक्षा भनेपछि चासो दिन्छन् ।
माथि नै उल्लेख गरीसके हरेक दिन परीक्षा हुन्छ है भनिदिन पाए त अभिभावकको
चासो पनि त हरेक दिन लिन पाइने रहेछ । परीक्षालाई औपचारिक नबनाउ । जहिले
मन लाग्छ उहिले लिऊँ परीक्षा । जति मन लाग्छ, त्यति लिऊँ । जे जे मन लाग्छ,
त्यही त्यही लिऊँ । तर हामीले गरेको मेहनतले विद्यार्थीको सिकाइ सुधार
भएको छ कि छैन विचार गरौँ । छैन भने किन मेहनत गर्ने ? अरुले जे गर भन्यो
त्यही मात्र किन गर्ने ? यदि विद्यार्थी सिकाइ हाम्रो अन्तिम लक्ष्य हो भने
सिकाइ सुनिश्चित गरौँ । अरु बाँकी आँफै तय गरौँ । कक्षाकोठा र सम्बन्धित
विषयका लागि शिक्षक मालिक बनौँ । नेता बनौँ । अरुले गर भेनेको मात्र गर्ने
कारिन्दा नबनौँ ।
सिकाइ उपलब्धिको असमानता हटाउने सबैभन्दा प्रभावकारी र पहिलो माध्यम
निर्माणात्मक मूल्याङ्कन (त्रैमासिक परीक्षा) हो । यसलाई सही अर्थमा बुँझौ, त्यही रुपमा
कार्यान्वयन गरौँ । बरु काम थोरै गरौँ तर नतिजामुखि र गरेको कामबाट हुने
सुधार खोजेर गरौँ । हामीले नगरे कसले गर्छ ? भन्ने भावनाको विकास गरौँ ।
सिकाइ सुधार कठिन छैन, तर हाम्रो काम गराइको तरिकामा सुधारको जरुरी छ ।