अघिल्ला दुई श्रृङ्खलामा अभिभावकका लागि परीक्षाको नतिजाले कसरी अर्थ राखेन भन्ने सन्दर्भ र विद्यालयहरुमा परीक्षा लिने पद्धति तथा परीक्षामा प्रयोग हुने प्रश्न निर्माण प्रचलन, प्रश्नको गुणस्तर र अन्य केही पक्षको वारेमा चर्चा गरिएको थियो । औचित्य छैन परीक्षा श्रृङ्खला अन्र्तगत यो तेस्रो श्रृङ्खला हो ।
त्रैमासिक परीक्षा : प्रश्न औचित्यको १
त्रैमासिक परीक्षा : प्रश्न औचित्यको २
यो श्रृङ्खलामा, विद्यालयमा परीक्षाको क्रममा र परीक्षा सकिए पश्चात हुने केही क्रियाकलाप र समग्रमा हामीले लिएका परीक्षा किन उपयोगी हुन सकेनन् भन्ने सन्दर्भमा चर्चा गर्दैछु ।
अनौपचारिक कि औपचारिक
निर्माणात्मक परीक्षाहरु सिद्धान्तत अनौपचारिक हुन्छन् । यस्ता परीक्षा शिक्षकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि लिन सक्छ । त्यसैले विद्यार्थीको सिकाइलाई सहयोग गर्न, उनीहरुका समस्या पत्ता लगाउन, व्यक्तिगत रुपमा समस्या समाधानका लागि सहयोग गर्न परीक्षा लिनु पर्छ । तर यी भनाई सबै सिद्धान्तमा मात्र भए व्यवहारमा प्रयोग हुन सकेनन् । हामीले गर्ने गरेका त्रैमासिक परीक्षाहरु निर्माणात्मक हुन भनिन्छ, तर ती परीक्षा धेरै औपचारिक हुन्छन् ।
सबै विद्यालयले त होइन होला तर करिब ७० प्रतिशत विद्यालयमा त्रैमासिक परीक्षा हुनु अगाडि १, २ दिन विदा हुन्छ । कतै कतै त परीक्षा सकिए पछि पनि विदा हुने गरेको देखिन्छ । साना कक्षाका परीक्षा एक डेढ वा दुई घण्टाका हुन्छन् र ठूला कक्षाका पनि दुई तिन घण्टाका हुन्छन् । वर्षमा ३ वटा त्रैमासिक परीक्षामा करिब २० दिन पठन पाठन हुँदैन । परीक्षामा सिट प्लानिङ, गरिन्छ । गार्ड बसिन्छ । परीक्षाको घण्टा अनुसार घण्टी बजाइन्छ र समय सकिएपछि लेख्दै गरेको विद्यार्थीको उत्तर पुस्तिका खोसिन्छ । यदि हाम्रा परीक्षा निर्माणात्मक हुन भने यी सब किन गरिन्छ ? किन यति धेरै औपचारिकता चाहिन्छ, यी परीक्षाहरुमा ?
सिकाइ समस्या पत्ता लगाएर सिकाउने हाम्रो उद्देश्य हो भने, यो सब रङ्गमञ्चमा मञ्चन गर्ने नाटक जस्तो औपचारिक किन गर्ने ? निर्माणात्मक हो भने अनौपचारिक नै गरौँ नभए यसलाई निर्माणात्मक नै नभनौँ कि ?
परीक्षापछि के ?
माथि नै उल्लेख गरि सकियो कि हाम्रा परीक्षा अत्यन्तै औपचारिक हुन्छन् । त्यसैले परीक्षाको समय तालिका तयार हुँदा नै पुनः विद्यालय सञ्चालन कहिले हुने भन्ने निर्धारण गरिएको हुन्छ । ठूला कक्षाको ८, ९ दिन परीक्षा नसकिदा सम्म त साना कक्षाको ४ दिन विदा नै हुन्छ । जब विद्यालय खुल्छ, हाम्रो नियमित पठन पाठन शुरु हुन्छ । एक दुइ वा तीन दिन पछि नतिजा सुनाइन्छ ।
उत्तरपुस्तिका परीक्षण सकेसम्म छिटो सक्ने अभियान हुन्छ । कार्यालय कक्षमा प्रअको निर्देशन जारी हुन्छ, कापी छिटो जाँच्नु पर्यो रिजल्ट निकाल्न भनेर । भ्याइ नभ्याइ गरेर कापी जाँच्ने, विद्यार्थी अनुसार नम्बर निकाल्ने र प्रअ लाई बुझाउने । प्रअको नजरमा कापी छिटो जाँचेर सकाउने शिक्षक जाँगरिला र काम गर्नेमा दर्ज भइन्छ ।
नतिजाको रजिष्ट्रर : कति धेरै मेहनत भएको छ यो रजिष्टर तयार गर्न । तर के कक्षामा छ, सात, आठ विषय लागेका विद्यार्थीका लागि थप सहयोग हुन्छ त ?
हरेक कक्षाको प्रथम, द्धितीय र तृतीय छुट्टाइन्छ । पास फेल छुट्टाइन्छ । घण्टौँ र कैयौँ दिन लगाएर नतिजा तयार हुन्छ । अनि नतिजा प्रकाशन हुन्छ । नतिजा प्रकाशन भएको २, ३ दिनसम्म पास हुने र फेल हुनेको चर्चा चलिरहन्छ । तर चर्चा हुँदैन को के नजानेर फेल भयो वा को के जानेर पास भएछ । हामीलाई थाहै हुँदैन अनि वास्तै पनि हुँदैन विद्यार्थीले के के विषयवस्तु बुझेनछन् र त्यो फेरी पढाउनु पर्ने भयो । अथवा कुन कुन विद्यार्थीले के के जानेनन खासै चासो र चिन्ताको विषय हुँदैन ।
यस्तो अपवाद नै होला सायद जहाँ परीक्षा पछि पास फेलको होइन, परीक्षामा सोधिएका हरेक प्रश्नको उत्तरको वारेमा छलफल गरिन्छ । सायदै भेटिएलान् जहाँ धेरै विद्यार्थीले नजानेको, मिलाउन नसकेको प्रश्नको वारेमा छलफल हुन्छ, त्यसको वारेमा चर्चा हुन्छ र त्यो प्रश्नको उत्तर कक्षामा सिकाइएको हुन्छ । यी सबै कुरामा हाम्रो चासो छैन । परीक्षा लिइयो, कापी जाँचियो, नम्बर बुझाइयो । काम सकियो ।
हामी शिक्षकलाई थाहै हुन्छ कोर्ष कहाँ पुगेको छ भन्ने, नभए कोर्ष कहाँ पुगेको थियो भनेर सोध्छौ । कक्षाका जान्नेमध्येका १,२ जनाले फ्याट्ट भनि पनि हाल्छन् । अनि शुरु हुन्छ हाम्रो नियमित पाठ । अनि पुरानै निरन्तरता चलिरहन्छ । कक्षामा रटान लगाएर, असिन पसिन हुँदै, घाँटी सुकुन्जेल चिच्याएर पढाँउछौ । विद्यार्थीका कुरा सुन्ने फुर्सद नै हुँदैन । सकेसम्म आफैले व्याख्या गरेर बुझाइदिन्छौ । अनि समूहमा बुझ्यौ भनेर सोध्छौ । दुई, चार जना जान्नेले बुझिम सर भन्छन् । कक्षाका सबैले बुझिम भनेजस्तै सुनिन्छ, अनि हामी मख्ख, सबैले बुझे भनेर । ल बाँकी भोलि । यो अभ्यास गरेर आउनु ।
दुई, चार दिन लगाएर नतिजाका ठूला ठेली तयार गर्नु भन्दा परीक्षामा कुनै पनि विद्यार्थीले मिलाउन नसकेका वा धेरैले विगारेका प्रश्नको उत्तरको वारेमा छलफल गर्ने गरेको र २,४ कुरा पुनः सिकाएको अवस्था कहाँ पो होला र । हाम्रो मेहनत नतिजाका रजिष्ट्रर तयार गर्नमा होइन,कक्षामा चाहिएको छ ।
विद्यार्थीको कमजोरी पहिचान गर्न परीक्षा लिने भन्छौँ तर हरेक दिन कक्षामा पढाउने शिक्षकले, कमजोर विद्यार्थी पहिचान गर्न परीक्षा लिनुपर्छ भन्ने कुरामा मलाई विश्वास छैन । त्यो कमजोरलाई सिकाउने जाँगर र सिप चाहिएको छ हामीमा । यसले जान्दैन भनेर हेपाहा व्यवहार होइन, यसले जान्दैन त्यसैले यसलाई बढी माया गर्नु पर्छ रबढी सिकाउनु पर्छ भन्ने सोचाई र गराई चाहिएको छ । कक्षामा जान्नेको होइन, नजान्नेको आवाज सुन्नु परेको छ ।
मेहनत गर्छौ तर किन ?
यो आलेखमा उल्लेख गरिएका कुराहरु सबै विद्यालयसँग सामन्यीकरण गरिएको छैन । धेरैसँग मिल्ला । तर कतिपय विद्यालयका शिक्षकले धेरै मेहनत गरेका पनि छन् । कतै कतै त त्यो मेहनतलाई हेर्दा साच्चिकै नतमस्तक नै हुन मन लाग्छ । तर त्यो मेहनतको नतिजा नदेख्दा दुःख लाग्छ ।
मेहनत त धेरै भएको छ, त्यसले खास सुधारका काम गरेन कि भन्ने चासो र चिन्ता हो । विज्ञानको भाषामा भन्ने हो भने कामै भएन । थुप्रै न्युटन बल खर्च भयो तर पिण्ड कतै पनि सरेन । धेरै मेहनत भयो तर त्यसले सिकाइमा खासै सहयोग गरेन ।
पछिल्ला २ तस्वीर कक्षा १० का विद्यार्थीको हो । अब एकछिन विचार गरौँ, के कक्षा १० को विद्यार्थीलाई तिमी कमजोर छौँ भनेर भनिरहन पर्छ र ? मैले अवलोकन गरेका केही कक्षाको अनुभवका आधारमा भन्दा बच्चाले आफूले नजान्ने कुरा त कक्षा १ कै वर्षको अन्तिमतिर थाहा पाइसक्ने रहेछ । कक्षामा केही कुरा सोध्दा, उसले जानेको छ, भनेर जान्नेतर्फ सङ्केत गर्छ । माथिको नतिजाबाटै थाहा हुन्छ, नतिजा राम्रो आएन भन्ने त तल लेख्नै पर्दैन । अनि हामीले तल सुझाव त्यसरी लेखेर विद्यार्थीले के बुझ्ने ? यसरी गर्नु र नगर्नुको के अर्थ होला ? हामीले मेहनत गर्यौ तर हाम्रो यो मेहनत कति काम लाग्ला त ? किन यसरी सबै विषयको मार्कसिट बनाएर बाँड्नु परेको ? एकछिन सोचौँ त ।
गर्ने के त ?
परीक्षा लिएपछि कोर्षमा होइन, प्रश्नपत्रमा जाँउ । कापी बाँडौ । उत्तरमा छलफल गरौँ । के पुगेन । के मिलेन । के लेख्नु पर्थ्यो । कसरी लेख्नु पथ्र्यो । कमजोरी खोजौ । सुधार खोजौ । हामीले परीक्षा अरुका लागि लिइदिएको हो र ? पक्कै होइन । यदि सिकाइका लागि र हाम्रा लागि लिएको भए २,४ दिन किन परीक्षाकै वारेमा कुरा नगर्ने त । कसको कुन प्रश्न मिलेन । सबैको कुन प्रश्न मिलेन । सबैको कुन मिल्यो । हरेकको उत्तर के लेख्नु पथ्र्यो । कति लेख्दा कति नम्बर आँउछ । पुरै नम्बर ल्याउन कति र के लेख्नु पर्छ ? भन्ने छलफल चलाउनु आवश्यक छ ।
लब्धाङ्क पत्र बनाउने समय यसमा खर्च गर्न सकियो भने त्यो धेरै प्रभावकारी हुन्थ्यो कि ! परीक्षामा के सोधियो, कक्षामा के पढाइ भएको थियो, र विद्यार्थिले उत्तर के लेखे, विद्यार्थीसँगै कक्षामै छलफल गरौँ । नजान्नेलाई नहेपौ । उसले नजान्नु भनेको मैले सिकाउन नसक्नु पनि हो, भन्ने विचार गरौँ । मेरो सिकाउने तरिका मिलेन कि भनेर पनि हेरौँ । परीक्षाका प्रश्न विद्यालयमा नै तयार गरौँ । विद्यालयले आफ्नो अनुकूल परीक्षा लिउँ । छ घण्टाको विद्यालय समयमा ३ घण्टा कक्षामा परीक्षाका प्रश्न र तीनको उत्तरका कुरा गरौँ । परीक्षालाई शिक्षण सिकाइको दैनिक क्रियाकलापमा मिसाइदिँउ ।
विद्यालय स्तरमा परीक्षा लिदाँ खर्चिलो हुन्छ, भन्ने पनि तर्क हुन सक्छ । तर यदि हामीले साच्चिकै विद्यार्थीको सिकाइ र उनीहरुका कमजोरी सुधार गर्नेमा ध्यान दिने हो भने प्रश्न छाप्नु पनि पर्दैन, टाइप गर्नु पनि पर्दैन । परीक्षाको समय तालिका पनि बनाउनु पर्दैन भन्ने लाग्छ मलाई । परीक्षालाई सिकाइकै एक अभिन्न अङ्गका रुपमा स्वीकार गरौँ । हरेक दिन ५, ७ मिनेट परीक्षाका लागि छुट्याउ । परीक्षामा सोध्ने प्रश्न गृहकार्यमा सोधौ । हरेक दिन छलफल गराउँ । कुनै दिन नेपालीको गरौ । कुनै दिन अङग्रेजीको गरौ । आँफै योजना बनाउ । आफै तालिका बनाउ । पाठ्यक्रम र सरकारका नीति नियमले कक्षा ५ सम्म त परीक्षा नगरे पनि हुन्छ भनेकै छ, माथि पनि वार्षिक परीक्षालाई अनिवार्य गरेको हो ।
निर्माणात्मक परीक्षा कसरी लिने, त्यसको अङ्कन कसरी गर्ने, विद्यालयले आँफै निर्धारण गरौ । मेहनत त गरेकै छौँ तर मेहनत सिकाइमा रुपान्तरण हुन सकेन । किन भन्ने खोजी गरौँ । हामीसँग थुप्रै प्रमाण छन् १० वर्ष पढेको एउटा विद्यार्थीले कक्षा १० मा गणितमा ३ नम्बर ल्याउँछ । अङ्ग्रेजीमा ४ नम्बर ल्याउँछ । के उक्त विद्यार्थीलाई तिमी कमजोर छौ, अझ मेहनत गर । यति भन्नलाई परीक्षा लिनु पर्छ र !
परीक्षा लिनु आँफैमा नराम्रो त होइन, तर परीक्षाका लागि खर्च गरेको समय, त्यसमा खर्च गरेको स्रोत साधन र हाम्रो मेहनतले के विद्यार्थीको सिकाइ सुधार भएको छ त ? विचार गरौँ त । यो सब कसैले गर भनेकोले मात्र गरेको हो कि, हामीले हाम्रा लागि गरेको हो ? हामीले हाम्रा लागि गरेको हो भने यसको उपयोगिता पनि खोजौं ।
हामी आँफुले केही नगर्ने, जसले जे जे गर, जसरी गर भन्छ, त्यही मात्र र त्यसरी मात्रै गर्ने भएका छौँ । कतिपयले तर्क गर्छौ, विद्यार्थी परीक्षाको बेला मात्र आँउछ । परीक्षाको बेला मात्र पढ्छ । त्यसो भएरै हरेक दिन परीक्षा लिउँ । छलफल गराँउ । सधै पढाइ, सधै परीक्षा भनौँ । यसो गर्दा के विग्रेला र ? कतिपयको तर्क छ, अभिभावकले परीक्षा भनेपछि चासो दिन्छन् । माथि नै उल्लेख गरीसके हरेक दिन परीक्षा हुन्छ है भनिदिन पाए त अभिभावकको चासो पनि त हरेक दिन लिन पाइने रहेछ । परीक्षालाई औपचारिक नबनाउ । जहिले मन लाग्छ उहिले लिऊँ परीक्षा । जति मन लाग्छ, त्यति लिऊँ । जे जे मन लाग्छ, त्यही त्यही लिऊँ । तर हामीले गरेको मेहनतले विद्यार्थीको सिकाइ सुधार भएको छ कि छैन विचार गरौँ । छैन भने किन मेहनत गर्ने ? अरुले जे गर भन्यो त्यही मात्र किन गर्ने ? यदि विद्यार्थी सिकाइ हाम्रो अन्तिम लक्ष्य हो भने सिकाइ सुनिश्चित गरौँ । अरु बाँकी आँफै तय गरौँ । कक्षाकोठा र सम्बन्धित विषयका लागि शिक्षक मालिक बनौँ । नेता बनौँ । अरुले गर भेनेको मात्र गर्ने कारिन्दा नबनौँ ।
सिकाइ उपलब्धिको असमानता हटाउने सबैभन्दा प्रभावकारी र पहिलो माध्यम निर्माणात्मक मूल्याङ्कन (त्रैमासिक परीक्षा) हो । यसलाई सही अर्थमा बुँझौ, त्यही रुपमा कार्यान्वयन गरौँ । बरु काम थोरै गरौँ तर नतिजामुखि र गरेको कामबाट हुने सुधार खोजेर गरौँ । हामीले नगरे कसले गर्छ ? भन्ने भावनाको विकास गरौँ । सिकाइ सुधार कठिन छैन, तर हाम्रो काम गराइको तरिकामा सुधारको जरुरी छ ।
0 comments Blogger 0 Facebook
Post a Comment