हरेक
वर्ष अङ्ग्रेजी नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन लैङ्गिक हिंसा बिरुद्धको
अभियान सञ्चालन हुने गरेको छ । घरशान्ति नै विश्वशान्तिको आधार महिला हिंसा बिरुद्ध
शुन्य सहिष्णुता कायम गरौं भन्ने नारा सहित यो वर्षको महिला हिंसा बिरुद्धको
अभियान पनि सकिएको छ । देशैभर यो अभियान सञ्चालन भयो । केही लाख त रुपियाँ पनि
खर्च भयो होला । जनचेतना बढाउने कुरा गरिए र पितृसतात्मक सोचका विरुद्धका चर्का
भाषण पनि सुनिए । यही १६ दिने अभियान चलिरहँदा १ जना बालिकाले देशको प्रमुख
व्यक्तिको स्वागतका लागि खटिएर ज्यान गुमाउन पुगिन । अन्य कैयौ घरेलु हिंसाका खवर
पनि सुनिए ।
महिला
हिंसाका विभिन्न प्रकार होलान ! घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा, सार्वजनिक स्थलमा
हुने हिंसा आदि आदि । महिलामाथिको हिंसा शुरु कहाँबाट हुन्छ ? महिलाहरुलाई हिंसाको
बिरुद्ध बोल्न नसक्ने कहाँबाट बनाइन्छ ? महिलाहरुको सशक्तिकरण गर्ने शिक्षालयहरुमा
हिंसाको अवस्था के छ ? चासो, चर्चा र चिन्ताको विषय बन्न सकेको छैन ।
महिला
हिंसा भन्नासाथ हामीले घरेलु हिंसामा बढी ध्यान दिएका छौ । यदि महिला हिंसाले
बालिका हिंसा र किशोरी हिंसालाई समेटछ भने, हरेक महिलाहरु बालिका हुँदा देखि
किशोरी हुँदै महिला हुँदासम्म हिंसाको श्रृङ्खलामा जेलिएका हुन्छन । बालिका
हुँदैबाट शुरु भएका हिंसाका श्रृङ्खलाले महिला भैसक्दा उनीहरु अधिकांश हिंसाहरू
सहनका लागि तयार भएका हुन्छन् ।
बंगलादेशी
लेखिका तसलिमा नसरिनका शब्दहरु सापटी लिएर भन्ने हो भने, पुरुषले महिलाका लागि
पोशाक तोकिदिएको छ, गर्न हुने र नहुने व्यवहार छुट्टाइदिएको छ, गहनाको डिजाइन तयार
गरिदिएको छ । के लगाउने र के नलगाउने तोकिदिएको छ । आँफूलाई सजिलो हुने गरि
महिलाका पोशाक पुरुषले डिजाइन गरेका छन् । पाँउजु लगाइदिएर नियन्त्रण गर्न खोजिएको
छ, गहना लगाइदिएर सजाएर पुतलि बनाई भोग्य वस्तु बनाउन खोजिएको छ (पढ्नुहोस आइमाईको हकमा नेपाली अनुवाद) ।
मेरो
दृष्टीकोणलाई अतिवादि दृष्टिले हेर्नुहुन्न भने हामीले पनि नेपालका धेरै सरकारी र
केही निजी विद्यालयमा छात्राका लागि तोकिदिएको पोशाक पनि नसरिनले भनेजस्तै
पुरुषलाई हिंसाका लागि सजिलो हुने गरि तोकेका छौ । अब विद्यालय शिक्षा १२ कक्षा
भएको अवस्था छ । १२ कक्षासम्म पढ्ने भनेका १७/१८ वर्षका किशोरीहरु पनि हुन्छन् ।
नाम
ठाँउ अनुसार फरक भएपनि अधिकांश छात्राहरुका लागि (मिड्डी, फ्रक, स्कट) घुडासम्म
मात्र आउने पोशाक तोकिदिएका छौँ । हुन त कुनैबेला कलेजले छात्रामाथि स्कटमा
प्रतिबन्ध लगाएका समाचार पनि आएका थिए, त्यसका विरोध पनि । पोशाक के लगाउने भन्ने
त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर यदि कसैले पोशाक तोक्छ भने त्यो लैङ्गिक
दृष्टिले पनि उपयुक्त हुन जरुरी छ ।
हरेक
विद्यालयमा कुनै न कुनै प्रकारले छात्रामाथिका दुर्व्यवहार र हिंसाका घटनाहरु भएका
पाइन्छन् । केही प्रतिनिधि उदाहरणको खोजी गर्ने हो भने विद्यालयमा छात्रामाथि शिक्षकहरुबाटै पनि हिंसा हुने गरेको पाइन्छ
। कक्षामा पढाउँदा नै शरिरको विभिन्न
भागहरुमा छुने, गालि गर्दा विभिन्न शब्दहरुको प्रयोगबाट पनि छात्राहरुमाथि हिंसा
भएको प्रशस्तै देख्न सकिन्छ ।
तीस,
चालिस वर्ष अगाडिको नेपाली समाज महिलाको पोशाकमा धेरै उदार थिएन र शिक्षालयहरुले
पनि त्यसै अनुसार समाजका लागि पोशाक तोकेका होलान । तर अहिलको नेपाली समाज अब
त्यही अवस्थामा छैन । विद्यालयहरुमा अहिले पनि त्यो तीस, चालिस वर्ष अगाडिदेखिकै
पोशाकको निरन्तरता छ ।
पोशाककै
कारण खेलकुदका अतिरिक्त क्रियाकलापमा भाग नलिने छात्राको सङ्ख्याको वारेमा हामीले
हिसाब गर्ने फुर्सद पाएकै छैनौ । मासिक चक्रमा पोशाकले पारेको अप्ठ्यारोका वारेमा
हाम्रो ध्यान पुगेकै छैन । चिसो मौसमका लागि पोशाक अनुकूल नभएको वारेमा हामीले
सोच्न भ्याएकै छैनौ । हामीले तोकेको पोशाक लगाउने बाध्यताले घुडासम्मको मोजा लगाउने
परेको अप्ठ्यारो देखेकै छैनौ । अतिरिक्त अर्को कपडा (स्लयास भनिन्छ कि) किन्नु
परेको वारेमा हामी वेखवर छौ । हामीलाई ठूला ठूला सिद्धान्तका कुराहरु रटान लगाउँदै
फुर्सद छैन ।
मैले
धेरै विद्यालयमा देखेको छु ३ थरी छात्राहरु । पहिलोथरीका केही जनाले स्लयास लगाएका
हुन्छन, सायद केहि सम्पन्न होलान । दोस्रोथरीका केही जनाले घुडाँसम्मको मोजा र
धेरैजनाले भने मिड्डि मात्र लगाएका हुन्छन् र उनीहरुको घुडातलको भाग खाली नै हुन्छ
। उनीहरु हरेक पटक अरु कुरामा भन्दा त्यही पोशाकबाट आफूँलाई सुरक्षित बनाउने
प्रयास गरिरहेका हुन्छन् । मैले आँफैले देखेका कैयौ अप्ठ्यारा परिस्थितिहरु जुन
छात्राहरुले भोग्छन् म यहाँ लेखिरहन असमर्थ छु ।
हँजारौ
गैसस, सरकारी निकाय, हरेक सरकारी निकायमा तोकिएका Gender
Focal Point, संसदबाट पारित गरिएका
कैयौ कानुनहरु सबै देखावटी छन् । तारे होटलमा गरिने ठूला ठूला गोष्ठीले महिला
हिंसामा कमि हुने होइन । हिंसामा कमी भनेको हाम्रा व्यवहार, सोच र प्रवृतिले हुने
हो । सुधार साना कुराबाट र गर्न सकिने स्थानबाट शुरु गर्नु आवश्यक छ । कानुन
निर्माण भन्दा पनि त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।
समाज
रुपान्तरणमा भूमिका खेल्नुपर्ने शिक्षालयहरु पढाउने बाहेकका अरु भूमिकामा देखिन
नसक्नु पनि हाम्रो समस्या हो । सरकारका तर्फबाट विद्यालयमा वार्षीकोत्सव कसरी
मनाउने, कतिवटा माला बनाउने र अतिथिलाई कति मिनेट बोल्न दिने भनेर निर्देशन जारो
गरेका छौ, तर छात्रामैत्री पोशाकमा हाम्रो ध्यान गएको छैन । छात्रा शौचालय भनेर
कोटा त बाँडेका छौ, तर साबुन पानी विहीन भएका छात्रा शौचालयबाट महिनावारीको समयमा
छात्राको उपस्थिति बढाउने दिवास्वप्न देखिरहेका छौँ हामीले ।
विद्यालयमा
कस्तो पोशाक लगाउने भन्ने निर्णय गर्न त हाम्रा विद्ययालय सबै स्वतन्त्र छन् ।
छात्रामैत्री विद्यालय, लैङ्गिक संवेदनशिल पाठ्यक्रम र पाठ्यपुस्तक, लैङ्गिकमैत्री
प्रश्नपत्र, छात्रामैत्री शिक्षण सिकाइजस्ता सिद्धान्तका धेरै कुरा गरिसेकका छौ
हामीले । हरेक माध्यमिक विद्यालयमा एक जना महिला शिक्षकलाई छात्राहरुको सम्पर्क
शिक्षक तोक्न समेत सरकारका तर्फबाट निर्देशन जारी गरेका छौ । त्यसको प्रभाव कस्तो
परेको छ, त्यो त फरक विषय होला तर अब हामी साच्चिकै व्यवहारमा छात्रामैत्री हुनु
जरुरी छ ।
व्यवहारमा
छात्रामैत्री हुनका लागि हरेक विद्यालयमा छात्राको पोशाक अनुकूलताका आधारमा
पाइन्ट, सर्ट वा कुर्ता सुरुवाल तोकियोस । हरेक छात्राका लागि देखावटी होइन,
अर्थपूर्ण छात्रा शौचालयको व्यवस्था होस् । शौचालयमा साबुन पानी र सेनिटरी प्याडको
व्यवस्था पनि होस् । आज विद्यालयमा रहेको सानो बालिका, किशोरी छात्रा नै भोलि यो
समाजको महिला हो भन्ने चेत खुलोस ।
मिल्छ
हरेक विद्यालयले आँफै छात्रामैत्री पोशाक तोकौ, र सँगै सरकारका तर्फबाट निर्देशन,
परिपत्र, नियम कानुन के चाहिने हो जारी होस, अनुगमन होस । देखाउने छात्रा शौचालय
होइन, साबुन पानी र सेनिटरी प्याडको (कम्तीमा आकस्मिक अवस्थाका लागि) व्यवस्था होस
। शिक्षकहरुबाटै छात्रामाथि हुने दुर्व्यवहार अन्त्य गर्ने प्रयास होस् । विद्यालय
सिद्धान्तमा होइन, व्यवहारमा छात्रामैत्री बन्न सकुन ।
विद्यालयका
प्रधानाध्यापक सहित सबै शिक्षकको सोच र व्यवहारमा परिवर्तन आओस । विद्यालयमा
छात्राका कुरा सुन्ने संयन्त्रको विकास होस । आँफूमाथि हुने हरेक हिंसाको बिरोध
गर्न सक्ने आत्मविश्वासी छात्राहरु तयार हुन सकुन । साना स्कुले छात्राबाट माला
लगाउँदिन, फूल लिदीन, उनीहरुलाई मेरो स्वागतमा लाइन नलगाउनु भन्ने अतिथिहरुको
मनोवृतिमा सुधार होस । हिंसा देखिने मात्र होइन, नदेखिने गरि पनि हुन्छ भन्ने
कुरामा ध्यान पुगोस । हाम्रा विद्यालय पाठ्यपुस्तकको रटान लगाउने मात्र होइन, समाज
परिवतर्न र विकासका वाहक बन्न सकुन, शुभकामना ।
धन्यबाद
। (अनलाइन पत्रिका www.edukhabar.com मा प्रकाशित)
deviramac@outlook.com
0 comments Blogger 0 Facebook