म मेरी छोरीलाई ४ वर्ष नपुग्दै विद्यालय नपठाउने भन्ने सोचमा थिए, तर म वास्तवमा असफल भए र आफ्नो निर्णय आफै कार्यान्वयन गर्न सकिन् । जब छोरी २ वर्ष पुगिसकिन टोल, छिमेक, नातागोता सबैले स्कुल किन नपठाएको भनेर सोध्न थाले । छोरी ३ वर्ष पुगुञ्जेल यो प्रश्नको उत्तर दिदाँ दिदाँ हामी २ जना हैरान भयौँ । शहरको डेरा बसाई, हेर्ने मान्छे पनि समस्या भयो । तीन वर्ष पुगेपछि छोरीलाई डेरा नजिकैको नर्सरी स्कुल पठायौँ ।
छोरीलाई स्कुल भर्ना गरेको करिब १ महिनापछि म स्कुल गए । अहिले बजारमा निकै तामझामका साथ खोलिएका नर्सरी स्कुलका सञ्चालकले आफूहरु विदेशमा वसेको, विदेशमा पढेको, बाल मनोविज्ञान बुझेको भनेर मेरो दिमाग टट्याए । अनि उनले ३ वर्षका बच्चालाई curriculum assessment का कुरा गरे । अनि नियमित गृहकार्यका कुरा । मैले किन assessment भनेर सोधे । अभिभावकलाई रिजल्ट नदिइ हुँदैन, मैले त जाँच लिनै पर्छ भन्ने उनको उत्तर थियो । ३ वर्षको बच्चालाई के को गृहकार्य भनेर सोधेको मेरो जिज्ञासामा गृहकार्य नदिने भए त मेरो स्कुल नै चल्दैन भन्ने उनको उत्तर आयो । अनि मैले मेरो छोरीको जाँच नलिनु र गृहकार्य पनि नदिनु भने, तर उनी म एक अभिभावकका लागि मेरो छोरीको मात्र जाँच नलिने र गृहकार्य नदिने कुरामा सहमत भएनन् ।

उनको धेरै सिद्धान्तका कुरा सुनेपछी गिजुभाइको दिवास्वप्न, हामी आमाबाबु, तोतो चान जस्ता केही पुस्तक पढन् सुझाए तर उनले अरु अरु धेरै ठूला किताबका ठूला कुरा गरे । मलाई थाहा थियो शहरका सबै नर्सरीको हालत यस्तै हो । त्यसैले अन्तमा ठिक छ, तपाँइले आफ्नो स्कुलमा आफ्ना सिद्धान्त लागू गराउनुस तर म मेरो बच्चाले कुनै दिन स्कुल जादिन भन्यो भने कर लगाएर पठाउने छैन र स्कुल मन पर्दैन भन्यो भने तपाँइको स्कुल नै पठाउँदिन भनेर निस्किए ।
समय वित्दै गयो, म छोरीले गृहकार्य नगरे पनि नगर भन्ने मान्छे । स्कुलबाट आउनासाथ खेल्न थाल्छिन् तर जब विहान स्कुल जाने बेला हुन्छ, उनी गृहकार्य गर्न थाल्छिन अनि ढिला हुन्छ र रुनै खोज्छीन । मैले नगरी जाँउ भन्दा मान्दिनन र मिसले गाली गर्नुहुन्छ भन्छिन् । म फेरी स्कुल गए र गृहकार्यको वोझ नदिन आग्रह गरे तर स्कुलले त्यो कुरा मानेन । अरु अभिभावकका लागि गृहकार्य नभइ हुँदैन । अनि बानि लगाउनु छ, हामी गृहकार्य दिन्छौ तर हँजुरले नगराउनुस न भन्ने कुरा भयो । जब दशै विदा हुँदै थियो अन्तिम दिन दशै विदाको गृहकार्य भन्दै पाँच पाना गृहकार्य बोकेर आइन । म च्यातेर फालिदिने विचारमा थिए तर त्यसो गर्दा छोरीले स्कुलमा गृहकार्य बुझाउनु पर्छ भनेर रोलिन भनेर त्यसो गर्न सकिन अनि उनले हरेक दिन गृहकार्यको कुरा गरिन् त्यो नसकिउन्जेलसम्म ।
दशै तिहारको बेला हामी एक महिनाका लागि गाँउ गएर फर्कियौ । छोरी स्कुल गएको दुई दिनपछि बील आयो । बीलका विभिन्न विवरणमध्ये एउटामा स्टेशनरी र अर्कोमा लञ्च थियो । म अर्को दिन स्कुल गए ।
म : एक महिना लञ्च नै खाएको छैन । अनि स्कुल नआउँदा त स्टेशनरी पनि त चाहिएको छैन  । यी दुई शीर्षकको पैसा म तिर्दिन ।
सञ्चालक : हजुरका जस्ता कुराले हाम्रो स्कुल चल्दैन सर, हामीले शिक्षकलाई तलब दिनै पर्छ, अरु खर्च हुन्छ ।
म : तलबका लागि मासिक शुल्क लिनुस तर नखाएको खानाको पैसा कसरी तिर्ने त ?
सञ्चालक : हाम्रो खाना बनाउने मान्छेलाई पनि त तलब दिनुपर्छ ।
छलफल, तर्कविर्तक धेरै भए, तर म हारेर घर फर्किए ।
करिब ६ महिना वितेपछि विद्यालयले परीक्षा लियो । त्यसको १ महिनापछि नतिजा आयो । सामाजिक व्यवहारका कुरा देखि अतिरिक्त क्रियाकलाप र अन्य थुप्रै बुँदा । अङ्ग्रेजीका लामा लामा वाक्यमा लेखिएका व्यवहार जनाउने बुँदाहरु र त्यसमा गरिएको श्रेणीकरण पढ्दै गए । जब आत्मविश्वास भन्ने बुँदा आयो, विद्यालयले गरेको श्रेणी वर्गीकरणमा अति उत्तम थियो तर मलाई थाहा थियो साढे ३ वर्षकी मेरी छोरी कति आत्मविश्वासी छिन भन्ने कुरा । मलाई लाग्छ, हामी अधिकांश यस्तै विद्यालयका मूल्याङ्कनमा स्वैरकल्पनामा रमाउँछौ तर बालबालिकाको वास्तविक अवस्था अलिक फरक हुन्छ ।
यसै महिनाको कुरा, एकदिन छोरीले गृहकार्य गर्नै मानिनन । विहान स्कुल जाने बेला भयो, अनि गृहकार्य नगरेको भनेर स्कुल नजाने भन्न थालिन् । उनलाई स्कुल नपठाए पनि हुन्थ्यो तर म शहरको डेरावाल उनलाई स्कुल नपठाए कि अफिस लैजानुपर्‍यो कि त विदा लिनुपर्‍यो । धुलो र धुँवा अनि ट्राफिक जाम र १० किमि टाढा बाइकमा अफिस लिएर जानै पनि कठिन, अनि अफिसमा पनि बच्चा लैजान मिल्ने कुरा पनि होइन । विदा लिन पनि अफिसमा केही जरुरी काम । यस्तो परिबन्दमा मैले उनलाई फकाएर, मिसलाई गृहकार्य गरेको छैनन, केही नभन्नुहोला भन्छु भनेर लिएर गए ।
स्कुल गेटमा उनलाई छोड्नेबेला मिसलाई आज यिनेले गृहकार्य गरेकी छैनन् है भने । प्रत्युत्तरमा मिसले तिमीले होमवर्क (उनीहरु गृहकार्य भन्दैनन) गरिनौ भनेर छोरीलाई भन्नुभयो । वहाँको सोधाइले छोरीलाई उनैलाई होमवर्क नगरेको बनाउँदै थियो । मैले तुरुन्त, होइन होइन, हामीले नगराएको हो भने । मैले यसो भन्नुको आसय बच्चाले होमवर्क नगरेको नभनि हामीले नगराएको भनेर दोष हामीसँगै लिदै थिए, तर मिस उनैलाई होमवर्क नगरेको भन्दै हुनुहुन्थ्यो । यति भनेर म घर फर्किए । खाना खाए । अफिस गए । घर आए । दैनिकी सकियो ।
साँझ मिसको गुनासो घर आइपुग्यो । हामीले बच्चालाई बानी लगाउन होमवर्क दिएका हुन्छौ । अनि कक्षामा एउटा बच्चालाई मात्र होमवर्क नदिन सक्दैनौ । विहान सरले (म) हामीले नगराएको भन्नुभयो । यसरी त कसरी हुन्छ र ?
छोरीले करिब एकहप्तादेखि मेरो exam, exam भन्दै गरेको सुन्छु । उनको भनाइबाट म के बुझिरहेको छु भने स्कुलले exam भुत सवार गराइदिएको छ । उनले exam के हो भन्ने बुझेकै छैनिन तर मेरो exam हुन्छ भन्छिन ।
बालबालिकालाई किन विद्यालयप्रति वितृष्णा हुन्छ । किन विद्यालय जान मान्दैनन् । केही दिन अगाडि एक निजी विद्यालयका प्रधानाध्यापकले दुई चार वर्ष पालेको पशुले फर्केर हेर्छ तर दस वर्ष पढाएको विद्यार्थी किन टाढा भाग्छ, कतै पशुलाई जति माया गरेनौ कि भन्ने अनुभूति गर्नुभएको रहेछ । विद्यालय र शिक्षकका यस्तै व्यवहारले बालबालिकाका लागि विद्यालय कहिल्यै प्यारो हुन सकेन । शिक्षक कहिल्यै आफन्त हुन सकेन । यो एउटा शिक्षक र विद्यालयको मात्र समस्या होइन । हाम्रो समग्र शिक्षा प्रणाली, समाज, संस्कार र हाम्रो बुझाईमै समस्या छ । शिक्षा प्रणालीको यो चिन्तनमा परिवर्तन नभएसम्म बालबालिकाका लागि विद्यालय घृणास्थल नै भइरहनेछन् भन्ने मेरो बुझाईँ  हो ।२०७३।१२।५
अहिले छोरी नर्सरीबाट केजीमा गइसकिन । दिनभरीको शिकार खाउँ भन्ने कान्छा बाउको अनुहार भनेजस्तो भएको छ । बच्चालाई स्कुल नपठाइ भएन । स्कुल पठाउँदाका कुरा कति गर्नु । एउटा उदाहरण हेरौ । गोलो घेरा, लामो छोटो धर्का, अाधा गोलाे, बाङ्गो टिङ्गो धर्का जस्ता चित्र बनाउन सिकाउनु पहिले सिकाउनु पर्ने आधारभूत कुरा केहि पनि नसिकाइ सोझै अाखाँ र कानको चित्र बनाउन लगाउने उनको युरोपको मन्टेश्वरीको सिकाइ प्रणाली र दर्शनका कुराले दिक्क बनाएको छ । गर्न सकिने केही छैन् आत्मसमर्पण बाहेक । 
हामी अभिभावक सचेत नहुँदासम्म यिनीहरुको मनपरीतन्त्र चलिरहने छ । यस्ता कुराको नियमन राज्यबाट न त स‌ंभव छ, न त अाशा गर्न नै सक्छौ । 
जरुरी छ, अभिभावक सचेतीकरणको ।
धन्यबाद ।  २०७४।१।२२

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.