थेसिस कथा
उच्च शिक्षालाई
अनुसन्धानमुखी र विश्व वजारमा प्रतिस्पर्धी तथा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने
शिक्षाको रुपमा बुझ्ने गरिन्छ । नेपालमा साधारण शिक्षाको उच्च शिक्षा प्रदान
गरिरहेका विश्वविद्यालयको सङ्ख्या अहिले ९ पुगेको छ । केही विषयमा स्नातक तहमै
साना साना अनुसन्धानका विषय पढाउने र काम पनि लगाउने गरिन्छ भने केही विषयमा
स्नात्तकोत्तर तहमा अनुसन्धान विषय पढाउने र शोध ग्रन्थ लेख्न लगाउने गरिन्छ ।
नेपालको एउटा विश्वविद्यालयको स्नातकोत्तर तहको सैद्धान्तिक अध्ययन सकाएपछि शोध
ग्रन्थ लेख्ने, त्यसको मौखिक परीक्षा (viva) दिने सम्बन्धमा म आँफैले नजिकैबाट नियालेको एउटा
सत्य कथा/घटना (म आँफैलाई पत्याउन कठिन भैरहेको छ, तपाँइ पाठकले के गर्नुहुन्छ ?) यहाँ
प्रस्तुत गर्दैछु ।
मेरो र दिनेशको मित्रता करिब १५ वर्ष अगाडी
सदरमुकाममा कक्षा ११ पढ्दा देखि निरन्तर छ । हामी दुईका सम्बन्धहरु पारिवारिक
स्तरसम्म नै बढेका छन् । हामीले कक्षा १२ सकाएपछि २ फरक फरक ठाँउमा शिक्षा शास्त्र
संकायबाट स्नातक तथा स्नातकोत्तरको अध्ययन सकायौं । मैले स्नातक अध्ययन गर्दाकै
वखत खरिदार सरहको सरकारी जागिर शुरु गरेको थिए भने दिनेशले स्नातकोत्तर सकेपछि
नीजि विद्यालयमा पढाउन शुरू गर्यो । दिनेश नीजि विद्यालयको जागिरमा त्यति
सन्तुष्ट थिएन, त्यसैले उसले हरेक दिन पत्रिकामा निस्कने विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी
संस्थाका जागिरका विज्ञापन हेर्ने गर्दथ्यो । अधिकांश विज्ञापनमा योग्यताको विषयमा
समाजशास्त्र, विकास अध्ययन, सामाजिक विज्ञान जस्ता विषय लेखिएका हुन्थे त्यो बेला,
र (अहिले पनि) । उसले एकदिन मसँग आफुले समाजशास्त्र विषयमा कलेज भर्ना गर्ने कुरा
बतायो । मैले पनि उसको रुचि अनुसार पढ्ने सल्लाह दिए । तर संयोग कस्तो भयो भने,
उसले कलेज भर्ना गर्न नपाउँदै एउटा सामुदायिक विद्यालयमा शिक्षक भएर गाँउ गयो ।
सामुदायिक विद्यालयमा शिक्षक भए पनि उसको
समाजशास्त्र पढ्ने रहर अन्त्य भएन र परीक्षा फारम भर्ने समयमा एकैपटक भर्ना गरेर
पहिलो वर्षको परीक्षा दियो । कलेजमा एकदिन पनि नगई आँफै पढेर परीक्षा दिदैँ पाँच
वर्ष सम्ममा सक्नु पर्ला भन्ने नै उसको एक प्रकारको योजना थियो, र भयो पनि त्यस्तै
। पहिलो पटक प्रथम वर्षमा १ विषय मात्र जाँच दिएर उक्त विषय उत्तीर्ण गरेको थियो,
तर दोस्रो वर्ष उ जाँचको बेला विरामी परेर सबै विषय छोड्यो । गाँउमा शिक्षक
भएकाले, खासै ध्यान पनि नदिएर होला, एक वर्ष त उसको परीक्षा फारम भर्नै छुटेछ । यसो
गर्दै गर्दा उसले ९ वटा सैद्धान्तिक विषय पास गर्न पहिलो वर्ष ४ पटक परीक्षा दियो
भने, दोस्रो वर्ष ३ पटक परीक्षा दियो । दोस्रो वर्षका सबै विषय पास गरिसक्दा पनि
पहिलो वर्षका ३ विषय बाँकी रहेकाले शोध ग्रन्थ लेख्न उसलाई रुचि लागेको थिएन
किनकी, केही गरि पढन भ्याइएन वा सकिएन र पहिलो वर्षको विषय बाँकी रहे भने शोध
ग्रन्थको काम नै हुँदैन भनेर । दिनेश जाँच दिन आउँदा मेरै कोठामा बस्ने भएकाले यी
सबै कुरा मलाई थाहा थियो ।
करिब ६ महिना पहिले उसको प्रथम वर्षको नतिजा
आउँदा सबै विषय उत्तीर्ण भएछ । यो खवर उसले मलाई गाँउबाटै फोन गरेर सुनाएको थियो ।
अब सबै विषय सकियो, अब यतै गाँउमा एउटा Ethnographic Study 
गरेर शोध ग्रन्थ तयार गर्छु
। यसका लागि म एकपटक कलेज जानु पर्छ । म आँउछु, भेट्ने हैँ भन्दै थियो । उ ६ महिना
पहिले सहर आएर ३ बजेतिर मलाई फोन गर्यो । हामीले फोनमा छोटो कुरा गरेर ५ बजेतिर
उसको कलेज गेटमा भेटने कुरा गर्यौ । म अफिसबाट १० मिनेट छिटो निस्केर ठिक ५ बजे
उसको कलेज गेटमा पुगे । म गेटमा पुग्दा अलि पर एकान्त जस्तो ठाँउमा एकजना अलिक
पाको मान्छेसँग कुरा गर्दै थियो उसले । म एकछिन गेटमा उभिरहे, केहीवेरपछि उ आयो ।
उ अलिक उदासजस्तो पनि र रहस्यमय जस्तो देखियो । सामान्य हार्दिकता स्वरुप हात
मिलायौ । हामी प्राय: भेटमा अनौपचारीक हेलो, हाइ गर्दै अङ्गालो नै मार्थ्यौ तर
यसपटक त्यस्तो भएन । मैले सोधे, के भयो आज तिमीलाई । उसले केही भएको त छैन्, तर
मैले केही सोच्नै सकि रहेको छैन । जाँउ चिया खाँउ अनि कतै एकान्तमा बसेर कुरा
गरौला भन्यो । हामी नजिकै चिया पसलमा गयौँ । चिया खायौँ । यस बीचमा हाम्रा अन्य
विभिन्न पारीवारिक तथा व्यक्तिगत कुराकानी भए । उसको अनुहार अलि फरक भएको थियो ।
मैले यस बीचमा उसको वारेमा धेरै कुरा सोचे, आखिर मान्छेको मन,, के के सोच्न भ्याउँछ
।
म
कलेज पुग्दा ३ बजेको थियो । कलेजको मैले पढेको सम्बन्धित विषयको विभागमा गए । त्यँहा
कोही मान्छे थिएन । एकैछिन बसे, कोही आउला कि भनेर, तर कोही आएन । यसपछि
पुस्तकालयमा गएर कस्ता कस्ता शीर्षकमा शोध ग्रन्थ लेखिएका रहेछन हेर्न मन लाग्यो र
त्यतै लागे । अनि ४ बजे फेरी सोही विभागमा गए । फेरी पनि त्यहा कोही थिएन । अनि कलेजको
प्रशासनमा गए र सोधे, समाजशास्त्र विभागमा कोही हुनुहुन्न । अनि एकजनाले के काम
थियो र भनेर सोध्नु भयो । सरहरुलाई भेट्नु थियो मैले भने । अनि अहिले कोही सर पनि हुनुहुन्न,
तपाईको काम के हो फेरी सोधियो । अनि मैले थेसिस लेख्नु पर्ने त्यसका लागि भेटन
खोजेको भने । उनी वहाँले तपाइ कुति सालको भर्ना भनेर सोध्नु भयो । अनि मैले २०६८
साउनमा पहिलो वर्षको जाँच दिएको हो, २०६७
होला नि भने । जाँच दिएकाले हुँदैन, तपाईको भर्ना रसिद अथवा परिचय पत्रमा कति
लेखेको छ हेर्नु पर्छ भन्नु भयो । संयोगले शुरुकै वर्ष भर्ना गरेपछि बनाएको परिचय
पत्र गोजीमा रहेछ, हेरे २०६६ रहेछ । अनि २०६६ भने । ए ल त्यसो भए यो महिनाको
अन्तिम सम्म थेसिस सक्नै पर्छ, होइन भने त तपाइको डिग्री नै collapse हुन्छ, वहाँले भन्नु
भयो । हैन यो महिना त अब १० दिन बाँकी छ, कसरी सकाउने त थेसिस, यो त गाह्रो मात्र
होइन असम्भव नै छ नि, मैले भने । अनि वहाँले केही उपाय त भैहाल्छ नि भन्नु भयो ।
यतिबेला त्यहाँ अरु कोही थिएन । मैले के उपाय हुन्छ होला र । जाँच भए त रातभरी पढौ
भन्नु हुन्थ्यो, थेसिसमा त data
collection गर्ने, literature review गर्ने लगायतका काम त १
महिना नभई कसरी सकिएला भने । वहाँले एकछि बस्दै गर्नु सल्लाह गरौला भन्दै, मेरो
घर, पेसा, लगायतका केही विवरण लिनु भयो । अनि वाहिर निस्केर मलाई पछि पछि आउने
इशारा गर्नु भयो र म पछि पछि गए । पर छेउमा पुगेपछि वहाँले कसैलाई नभन्ने शर्त
राख्दै २० हजारमा एउटा थेसिस खोजिदिन्छु । ३, ४ दिन पढ्नुस । केही मन लागे अलि अलि
थपघट गर्नुस । यही महिनाको २९,३० गतेतिर मौखिक परीक्षा हुन्छ, सकियो । के गर्नु
हुन्छ, तर यस्तो कुरा कसैलाई भन्नु हुँदैन भन्नु भएको छ, मैले भोलि विहान जवाफ
दिन्छु भनेर फोन नं ल्याएको छु । म एउटा शिक्षक, मेरो नैतिकताले यो सब गर्न दिदैन,
तर मैले मात्र नगरेर यो रोकिने पनि होइन होला । अनि मैले गर्दा यसो गर्ने म मात्र
पनि हुँदिन होला किनकी यस्तो धन्दा गर्ने त ठाँउ ठाँउमा पोस्टर टाँसेकै देखिन्छ । म
त विलखबन्दमा परे उसले भन्यो ।
यो सबै सुन्दा पत्याउन कठिन लागिरहेको छ, तर
यो वास्तविकता नपत्याएर सुख पनि छैन् । यति गफ गरेपछि यसका फाइदा वेफाइदाका धेरै
गफ भए । यो सबै कुरा म बस्ने घरकै अर्को कोठामा बस्ने एक भाइले पनि सुनिरहेका थिए
। उनी नेट चलाउन मेरो कोठामा आएका थिए । उनले यसलाई निकै सहज पाराले, यहाँ यस्तो
विषयमा तपाईहरु सोचिरहने । नेपालका कलेजमा एउटा मान्छेको जाँच अर्काले दिन्छ ।
स्ववियुका नेताहरु परीक्षा हलमै बस्नु पर्दैन । विज्ञानका प्रयोगात्मक परीक्षा नाम
मात्रका हुन्छन् । डिग्री चाहिएको हो भने २० हजारमा लिइहाल्नुस, ज्ञान चाहिएको भए
किताब किनेर पढ्नुस अङ्कल । ८० प्रतिशत थेसिसहरु कपि गर्ने र चोर्ने हुन्छन् ।
एउटा कलेजको अर्को कलेजमा लगिन्छ । यो कुरा शिक्षक स्वयंलाई पनि थाहा हुन्छ । करिब
२० प्रतिशत मात्र थेसिसहरु साच्चिकै लेखिन्छन् । आफैँ लेख्नेले भन्दा अरुले धेरै
नम्बर ल्याउछन् । उनी आफै स्नातकोत्तर पढ्दै गरेको, कलेजमा हुने धेरे प्रकारका
धन्दाहरुको फेहरिस्त सुनाएर मेरो साथीलाई थेसिस किन्ने निश्कर्षमा पुग्न सहयोग गरे
उनले ।
आखिरमा दिनेशले थेसिसका लागि उसको जागिरको १
महिनाको तलब २० हजार खर्चने भयो । विहान उसले अघिल्लो दिन भेट भएका व्यक्तिलाई फोन
गरेर आफुलाई थेसिस खोजिदिन आग्रह गर्यो । दुई दिन पछि उनले थेसिस दिने कुरा
गरेछन् । विहान हामी कोठबाट सँगै निस्कियौ । उसले दिदीको कोठातिर जाने कुरा गर्यो,
म मेरो अफिस गए । २ दिनपछि उसले थेसिसको soft copy सिडिमा लिएछ । अनि ४ दिनपछि
दिउँसो ४ बजे परीक्षाको फि तिरेर १ प्रति थेसिस प्रिन्ट गरेर मौखिक परीक्षाका लागि
आउनु र यो यो कुरा विशेष ध्यान दिएर पढनु भन्ने पनि जानकारी पाएछ । उसले मलाई फोन
गरेर २ दिनको लागि मेरो ल्यापटप चाहियो भन्यो । मैले ल्यापटप दिन सक्दिन, अफिसमा
दिँउसो ल्यापटपमै काम गर्नु पर्छ, मेरो कोठामा डेस्कटप कम्प्युटर छ, त्यसमा राखेर
प्रिन्ट गरौ, पढेर सच्चाउने पर्ने त्यही सच्चाउला र फेरी प्रिन्ट गरौँला, अनि नेट
पनि चल्छ भनेर कोठामै बोलाए । अझै ४ दिन छ, म यतै प्रिन्ट गरेर पढ्छु र सच्चाउने
तथा अन्तिम प्रिन्टका लागि आउँछु भन्यो । मैले ल्यापटप दिन नसकेकोमा sorry भने, उसले यसलाई
सहजै लियो । उ मौखिक परीक्षाको अघिल्लो दिन एउटा थेसिस र त्यसको soft copy अनि त्यो प्रिन्ट गरेको
थेसिसमा के के कोरकार पारेर मेरो कोठामा आयो । साँझ ८ बजे विजुलि नआउन्जेल मेरो
ल्यापटमा उसले सच्चाउने काम गर्यो । बेला बेला यसरी गलत काम गर्नु परेकोमा उ
ग्लानी महशुष गरिरहन्थ्यो । उसले रातभर थेसिस पढ्यो । उनले पढ्न भनेका मात्र नभई उसले
सबै कुरा पढ्यो । म विहान अफिस जाँदा उ पढ्दै थियो । मैले साँझ यतै आउ है भने,
उसले नाइ नास्ती गर्दै थियो तर मैले अलिक कर गरेपछि उ आउँछु भन्यो । साँझ सँगै
हामी कोठामा आयौ र खाना खाएपछि उसले दिउसोको कथा यसरी बतायो ।
म निर्धारित समय ४ बजे कलेज पुगेको थिए । म पुग्दा नपुग्दै ती थेसिस दिने
व्यक्तिले फोन गरेर सिधै यताको विभाग भएको भवनमा आउनु भने । म विभागमा गए । त्यहाँ
तिनै मलाई थेसिस दिने व्यक्ति र एक शिक्षक कुरा गर्दै थिए । उनै थेसिस दिने
व्यक्तिले मसँग एक प्रति थेसिस र शुल्क बुझाएको रसिद मागे र शिक्षकलाई दिए ।
शिक्षकले थेसिस बुझ्न अलिक गाह्रो मानेजस्तो गरे, तर उनले मेरो यति एउटा हो,
तपाइले गर्नै पर्छ गरिदिनुस भनेर कर गरे । अनि शिक्षकले जाँगर नगरी मेरो थेसिस लिए
। दराज खोले, एउटा रजिष्टर निकाले । त्यहाँ भएका अर्का व्यक्तिले मलाई अर्को पट्टि
कुर्सीमा बस्न पठाए । शिक्षकले रजिष्टरमा केही लेख्दै थिए, उनै थेसिस उपलब्ध
गराउने व्यक्तिले, तपाइको थेसिसको शीर्षक, उद्देश्य, विधि र निश्कर्ष भन्नुस भनेर
लगाए । मैले कन्ठस्थ पारेको त थिइन तर पनि केही मोटा मोटी भन्दै गरे । मैले भन्दै
गर्दा कोठामा अरु २, ३ जना व्यक्तिहरु गफ गर्दै आए, कसैको ध्यान मतिर थिएन उनीहरू सबै जना एक आपसमा गफ गर्न लागे । म एकछिन
बोले र रोकिए । यतिञ्जेल शिक्षकले त्यो थेसिस पल्टाइरहेका थिए । अनि उनले थेसिसमा
बीचको तालिका एउटै पेजमा राख्न र अनुसूचिमा प्रश्नावली थप्ने सल्लाह दिए र अब
यसलाई ३ प्रति फाइनल वाइन्डिङ गरेर ल्याउनु भनेर पठाए । म बाहिर आएपछि निकै अलमल
परे, यो के भैरहेछ । परीक्षा भन्ने, हाँजिर भएन । अनि तिनै थेसिस दिने व्यक्तिलाई
फोन गरे र एकचोटी भेटनु छ भने । उनले ३ प्रति बनाएर ल्याउनुस । त्यतिखेरै भेटौला
अहिले जानुस भने पछि म आए, तर म अझ विश्वस्त छैन्, मैलै साच्चिकै १०० पूर्णाङकको
थेसिसको परीक्षा पास गरे ।
दिनेशका यी सब कुरा पत्याउन निकै कठिन भयो
मलाई । उ पनि ग्लानी महशुष गरिरहेको छ । साच्चै मैले कुनै अपराध नै त गरिन जस्तो
लागेको छ, उसलाई । अर्कोदिन विदाको दिन थियो । केही सामान्य सच्चाएर र तालिका एउटै
पेजमा राखेर बेन्डिङ्का लागि दिने भन्दै म बाट उ विदा भयो । उसले सोही दिन एउटा
वेन्डिङ गर्ने ठाँउमा त्यो छोडेर कार्यथलोमा फर्कियो । उ फेरी एक हप्ता पछि आएर
त्यो थेसिस कलेजमा बुझायो । त्यसको केही दिनपछि, परीक्षा नियन्त्रण कार्यालय
बल्खुबाट उसले ट्रान्सक्रिप्ट निकाल्यो र अनुसन्धानमुखी उच्च शिक्षाको डिग्री लिएर
गैससमा जागिरका लागि आवेदन गर्ने पर्खाइमा
बसिरहेको छ ।
धन्यबाद ।
यो निकै लाजमर्दो बास्तविकता हो ।
ReplyDelete