स्थानीय निकायमा विनियोजन भएको बजेटबाट शिक्षकको तलब भत्ता अबको एकमहिनाभित्र विद्यालयको खातामा निकासा गरिसक्नु पर्छ तर केन्द्रीय सरकारको अदुरदर्शी निर्णयका कारण यो काम हुन्छ हुँदैन, अहिले भन्न सक्ने अवस्था छैन । हाल शिक्षा सेवामा कार्यरत कर्मचारीमा विज्ञता के कति छ, त्यो फरक पाटो भयो तर कम्तिमा उनीहरु लामो समय शिक्षा सेवामा काम गरेका हुनाले शिक्षा व्यवस्थापनको अनुभव पक्कै पनि छ । यसैमा स्थानीय सरकारका सुधारका मार्गचित्र समाहित हुन सके त्यसले पक्कै पनि सामुदायिक शिक्षा सुधार हुन्छ ।
विश्लेषण फरक फरक होलान, तर्क वितर्क जति पनि गर्न सकिएला । शिक्षा सेवामा अहिले करिब ३०० उपसचिव स्तरका कर्मचारी पद, अनुभव र योग्यता अनुसारको काम नपाएको अवस्थामा छन । यो अवस्था लोकतान्त्रिक सरकारले अदुरदर्शी तवरले गरेको बढुवा समायोजनबाट सिर्जित भएको हो । निजामती सेवामा कार्यरत सबै कर्मचारीलाई समान भूमिकामा देख्न नसक्नु र शक्ति तथा पहुँचमा रहेको समूहले अर्को समूहलाई तल्लो स्तरको देख्नुले समस्या सिर्जना भएको छ । यस्तो समस्या सिर्जना हुनुमा मुख्य गरी सरकारका उच्चपदस्थ प्रशासक र उदासिन विभागीय मन्त्रीहरु हुन ।
सामान्य प्रशासन मन्त्रालय निजामती सेवाकै केन्द्रिय निकाय हो । निजामती सेवाका दशबटै सेवाको अभिभावकत्व लिनुपर्ने यो मन्त्रालय सधै कतै हराइरहेको कुहिरोको कागजस्तो देखिन्छ । यसको आफ्नै कुनै पद्धति छैन् । पञ्चयातकालका केही विज्ञ कहलिएका प्रशासकहरूलाई प्रतिवेदन लेखाउने र दराजमा थन्काउने काममा व्यस्त छ यो मन्त्रालय । निजामती सेवा सरकारको ऐना हो । दुरदराजका गाउँमा बसेर काम गर्ने कृषि, स्वास्थ्य, वन र स्थानीय निकायका कर्मचारी सरकारका प्रतिनिधि हुन् तर सिंहदरबारको सरकारले ती कर्मचारीले आफ्नो प्रतिनिधित्व गरेका छन् र उनीहरुको सक्षमताबाटै जनताले सरकारको मूल्याङ्कन गर्छन भन्ने थाहै पाउँदैन् ।
स्वायत्त र संवैधानिक स्थानीय सरकारलाई तालुक मन्त्रालय बन्न लालायित भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन दिन्छ, कर्मचारी भर्ना गर्न पाँइदैन भनेर । तर आँफूले कर्मचारी खटाउन नसकेको दोष अन्यत्र पन्छाइरहेको छ । स्थानीय सरकारका पदाधिकारीहरू पनि के कुरामा स्पष्ट हुनुपर्छ भने कर्मचारी भनेका सरकारका प्रतिनिधि हुन् । उनीहरूले प्रवाह गर्ने सेवाको गुणस्तर, उनीहरूले जनतासँग गर्ने व्यवहारले स्थानीय सरकारको सक्षमता देखिने हो ।
स्थानीय सरकाहरु संघले कर्मचारी पठाइदेला र काम लगाउँला भनेर कुरीरहेको अवस्था अहिले देखिन्छन् । तर स्थानीय सरकार के कुरामा चनाखो हुनु जरुरी छ भने संघले कस्ता कर्मचारी पठाउँदैछ ? कसरी पठाउँदैछ ? उनीहरुको सरुवा कसरी हुन्छ ? कामको मूल्याङ्कन कहाँबाट कसले र कसरी गर्ने हो ? उनीहरु स्थानीय सरकारप्रति जवाफदेही हुने हुन त ? कि संघीय सरकारप्रति ? विभिन्न मन्त्रालयबाट खटिइ आउने फरक फरक सेवाका कर्मचारीलाई कसले काम लगाउँछ ? प्रमुख को हुन्छ ?
स्थानीय निकाय सञ्चालनसम्बन्धी गठन आदेश २०७४ ले प्रशासन सेवाका कर्मचारीमात्र कार्यकारी प्रमुख हुने व्यवस्था गरेको छ । अहिले स्थानीय निकायमा कर्मचारीको खटनपटनमा यो व्यवस्थालाई उत्तम देख्ने र संशोधन गर्न नचाहने उच्च प्रशासकहरू नै बाधक बनेका छन् । प्रशासन सेवाका कर्मचारीले यो वा त्यो वहानामा अन्य सेवाका आफूभन्दा सिनियर कर्मचारी आफू मातहत कामकाज लगाउन खोजेको देखिन्छ । प्रशासन सेवाका कर्मचारीले दिउँसै यस्तो सपना नदेखे पनि हुन्छ । सरकारले दमनात्मक शक्तिको आडमा र कानुनको बलमा खटाए पनि काम लगाउन, कामको समन्वय गर्न संवभ नै छैन । वरिष्ठतालाई भूमिका दिने पद्धति कर्मचारीतन्त्रमा मात्र होइन यो हाम्रो संस्कार र सामाजिक प्रचलन पनि हो । परिवारमा जेठो छोरालाई भाईहरुले मान्नुपर्ने र बाबुसँगै उसले अभिभावकत्व ग्रहण गर्ने संरचना नै छ । यो सामाजिकमात्र होइन, हाम्रा राजनीतिक दलमा कुन वरिष्ठ नेता हो, कसले पार्टीको सदस्यता पहिले लिएको हो भनेर हेर्ने गरिन्छ । प्रचण्ड सरकारका पालामा दुई उपप्रधानमन्त्रीले वरिष्ठताको विवाद गरेको नजिर छ । केही वर्ष पहिले सरकारले जुनियर सचिवलाई मुख्य सचिव बनाउँदा अन्य आधा दर्जन सचिवले राजिनामा दिएकै हुन् । पत्रकारहरूले पनि बुझौँ, तपाईहरुमा पनि महासँघको सदस्यता लिएको आधारलाई वरिष्ठता गणना हुन्छ । कुनै मिडिया हाउसमा को पहिले आएको हो भनेर हेरिन्छ ।
सरकारले खटाएपछि जानुपर्छ र लगाएको काम गर्नुपर्छ भन्नेमा दुइमत छैन् । कर्मचारीहरू खटिएको ठाँउमा जान र काम गर्न तयार छन् । तर कर्मचारीबाट काम लिनका लागि कार्यवातावरण, उत्प्रेरणा र सुरक्षा चाहिन्छ चाहिँदैन, विज्ञहरुले भन्दा हुन्छ । कर्मचारीलाई मेसिनजस्तो ठान्ने वैज्ञानिक व्यवस्थापनको सिद्धान्तले पक्के काम गर्दैन् । मान्छेहरुका लागि संवेगका कुरा हुन्छन् । आत्मसम्मानका कुरा हुन्छन् । त्यसले सिर्जना गर्ने समस्याका लागि जिम्मेवार हुनुपर्छ ।
अहिले खासगरी प्रशासन सेवा र यसका उच्चपदस्थ अधिकारी जो अरुभन्दा बढी शक्तिमा छन् उनीहरुले कतिपय यस्ता हावादारी तर्क गर्छन कि नेपाली उखान ................ लाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएको छ । उदाहरणको लागि लोकसेवा आयोगको परीक्षाको पूर्णाङ्क एउटा हो । आँफूहरुले धेरै पूर्णाङ्कको परीक्षा पास गरेको भन्ने । जति पूर्णाङ्कको परीक्षा दिएपनि एकले अर्काको काम गरिदिएका छैनन् । लेखाको कर्मचारीले लेखाको काम गरेकै छ । कृषिका जेटीले पनि कृषिकै काम गरेका छन् । नायब सुब्बाले २०० पूर्णाङ्कको परीक्षा दिए पनि ३०० को दिएपनि सडक सिँचाइ वा शिक्षा कार्यालयको कर्मचारी प्रशासन शाखा वा स्टोरमा खटिएपछि गर्ने काम त्यही हो । ५० पूर्णाङ्कको सब इन्जिनियरले नक्सा बनाउँछन् । डिजाइन गर्छन् । तीन सय पूृर्णाङ्कका नासुले ती ५० पूर्णाङ्कका इन्जिनियरको काम गरेका त छैनन् । त्यसैले यस्ता कुतर्कहरु नगरी आफ्नो नैतिकता र पदीय मर्यादा जोगाएकै राम्रो जुनसुकै सेवा र तहका कर्मचारीहरूले । जति पूर्णाङ्कको परीक्षा पास गरेपनि भेटेरीनरी (पशु सेवा कार्यालयमा) कुकुरलाई रेविजको खोप लगाउने प्रशासन सेवाकाले गरेका छैनन् । जिल्ला अस्पतालमा विरामीको अप्रेशन पनि गरेका छैनन्, बरु कतिपय सवालमा सहयोगी र कतिपयमा असहयोगी पनि बनेका छन्, खासगरी सार्वजनिक खरिदसँग सम्बन्धित कार्यमा । भ्रष्टाचारका कुरा गरे समग्र सरकारी सेवाभरि नै होला तर प्रशासन सेवाकाले मात्र काम गर्ने यातायात र मालपोतको अवस्था हेरौँ त ? अध्ययन अनुसन्धानले देखाएका कुरामा धेरै चासो नलिउँ ।
यो सँगै ध्यान दिनुपर्ने कुरा के हो भने ती सब ओभरसियर, जेटीए, हेल्थ असिस्टेन्टले लोक सेवा आयोग वा कुनै अमुक निकायमा निवेदन हालेर परीक्षाको पूर्णाङ्क कम गरिदेउ भनेका पनि होइनन् । जस्तो परीक्षा प्रणाली छ, त्यही जाँचमा सहभागी भएका हुन् । त्यो सेवा सञ्चालन गर्ने मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, पाठ्यव्रmम निर्धारण गर्ने आयोगले जान्ने कुरा हो । लोकसेवा आयोगमा त ९० प्रतिशत प्रशासन सेवाका छन् । पदाधिकारी पनि प्रशासनकै बढी छन् किन प्रशासनको पूर्णाङ्क कम नगरेका होलान अथवा प्राविधिकहरूको पूर्णाङ्क किन नबढाएका होलान । यस्ता तर्क गर्न बन्द गरौँ र लाज ढाकौँ जसले यो पूर्णाङ्कको कुरा गरिरहेका छौँ ।
कहिलेकाँही शक्तिमा हुनेहरुलाई मात चढ्छ र त्यो मात बढी भएपछि के बोले र के गरे भन्ने थाहा पाउँदैनन् । अस्ति भर्खर विदा लिएर विदेशमा काम गर्न हिँडेका मुख्य सचिव त्यही शक्ति दुरुपयोग गर्दा आलोचनाको शिकार भए । अख्तियारमा लोकमानलाई शक्तिको मात लाग्दा लज्जाजनक ढंगबाटा बर्हिगमन भए । पूर्वराजालाई पनि शक्तिको मातले सकायो । कतिपय राजनीतिक विश्लेषकले नेकपा माओवादीलाई पनि २०६४ को जनादेशको शक्तिको मातले सत्ता दुरुपयोग गर्दा जनविश्वास गुम्यो भन्छन् ।
अहिले सरकारका शक्तिमा भएका केही उच्च प्रशासकहरू अरुलाई दोष दिएर विवेकहिन भएर तर्क वितर्क गरेका छन् । हालका जिल्लामा प्रमुख जिल्ला अधिकारी जुनियर हुँदा अरु कार्यालयमा सिनियर बसेका थिए भन्छन् अनि परीक्षाको पूर्णङ्कका लाज लाग्ने कुरा गर्छन् । अलग कार्यालय, अधिकार र तालुक निकाय फरक हुँदा र एउटै प्रशासनिक निकायमा कसरी मिल्छ ? प्रजिअ मातहत कोही थिएन, सबैका आफ्नै माथिल्ला तालुक निकाय र हाकिम थिए । प्रजिअले कुनै कार्यालय प्रमुखको का.स.मु. मूल्याङ्कन गर्ने अधिकार राख्दैनथे । यस्ता कुतर्कहरुसँग स्थानीय निकायका जनप्रतिनिधि साबधान हुन जरुरी छ ।
विकल्प के हुन त ?
सरकारका उच्च प्रशासकलाई शक्तिको मात लागेको छ । राजनीतिक दललाई सत्ताको लोभ लागेको छ । कसैलाई पनि मुलुकको चिन्ता छैन, देखाएका मात्र हुन् । विकास समितिले एकदिन नाटक मञ्चन गरेर छोड्यो । राज्य व्यवस्था समिति कानमा तेल राखिरहेको छ । भ्रममा कोही पनि नपरौँ, निजामती सेवाका कर्मचारीलाई जुनियरको मातहत सिनियर राखेर काम लगाउन सकिन्छ भन्नेमा ।
(क) स्थानीय निकायमा प्रशासन सेवा नभएपनि चल्न संभव छ, तर प्राविधिक सेवा नभई स्थानीय सरकारका काम चल्न संभवै छैन ।
(ख) कामको प्रकृति अनुसार विषयगत मन्त्रालयबाट एकजना कर्मचारी खटाउने अभ्यासले पनि पुग्दैन् । उदाहरण शिक्षाकै लिऊ, ३०० विद्यालय भएको नगरपालिकामा एकजना कर्मचारीले काम गर्न संभव नै छैन् ।
(ग) राजनीतिक पुर्नसंरचना मात्र होइन प्रशासनको पुर्नसंरचना जरुरी छ ।
(घ) गाउँपालिकामा उपसचिवको नेतृत्व आवश्यक छ । यसो भयो भने मात्र विषयगत मन्त्रालयका अधिकृतलाई काम लगाउन सकिन्छ ।
(ङ) समायोजन विधेयकले कर्मचारी व्यवस्थापनको समग्र पक्षको वारेमा बोल्दैन् । यसले खाली स्थानीय निकायमा खटाउने कामलाई मात्र व्यवस्थित गर्छ, त्यसैले यो पक्षमा ध्यान दिन आवश्यक छ ।
(च) स्थानीय सरकारलाई स्थानीय निकायको प्रशासकीय प्रमुख छान्ने अधिकार दिँदा पनि उसले जुनियर छान्ने, राजनीतिक आस्था प्रयोग हुने संभावना छ । जसले अस्थिरता बढाउँछ ।
हरेक तहमा एकजनामात्र माथिल्लो श्रेणीको कर्मचारी राख्ने र अन्य सबै एकतह तल्लो तहका कर्मचारी व्यवस्थापन गरी स्थानीय निकायमा कर्मचारी खटनपटन गर्नु जरुरी छ । अन्यथा सिंहदरबारको अधिकार गाउँमा त पुग्यो तर त्यो ल्हासामा सुन छ, कान बुच्चै भनेजस्तो हुनेछ । सेवा प्रवाह कर्मचारीले गर्ने हो त्यसैले स्थानीय सरकारका पदाधिकारी चनाखो भई कर्मचारी व्यवस्थापन नगर्दा यसले सहजता ल्याउने अवस्था हुँदैन ।
स्थानीय सरकारका पदाधिकारीले कर्मचारीतन्त्रका विशेषता, म्याक्स वेवरको सिद्धान्त, नेपालको निजामती सेवा ऐन र नियमावलीका प्रावधान हेर्न पाए कसो होला ।
धन्यबाद ।
0 comments Blogger 0 Facebook
Post a Comment