रमेश एउटा गैरसरकारी संस्थामा जाँगीर गर्छन् । उनका दुर्इ छोरी र एक छोरा छन् । सबै छोराछोरीलार्इ अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाएका हुनाले नेपाली भाषाको सिकाइमा उनी आफैँले सहयोग गर्छन् । बाल साहित्यका विभिन्न पुस्तक तथा पत्रपत्रिका (मासिक मुना र साप्ताहिक कोपिला) नियमित पढ्न दिन्छन् ।
वार्षिक परीक्षा (कक्षा ७ मा) उनकी कान्छी छोरी अनामिकाले नेपाली विषयमा थोरै अङ्क ल्याएपछि एक दिन उनी विद्यालयमै गएर समस्या बुझे ।  शिक्षिकाले उनको नेपालीमा ह्रस्व दीर्घ लगायतका वर्णविन्यासमा धेरै गल्ती हुने गरेको एको बताइन ।  घरमा आएर छोरीलार्इ भने, तिमीले दाइ, दिदी र मलाई जसलार्इ सोधे पनि हुन्छ । नेपाली भाषा लेख्दा शुद्धा शुद्धिमा ध्यान देउ छोरी । शुद्धा शुद्धि नमिलेर तिम्रो राम्रो नम्बर आएन । दाइ र दिदी भन्दा चलाख उनकी छोरी केही बोलिनन् । एकै छिनमा उनले आफ्नो पाठ्यपुस्तक, ९ कक्षामा पढ्ने दाइको पाठ्यपुस्तक, ११ कक्षामा पढ्ने दिदीको पाठ्यपुस्तक, उनको बाबाले ल्याइदिने गरेका मुना, कोपिला र अन्य केही बाल साहित्यका पुस्तक सबै जम्मा पारेर बाबालार्इ दिइन । बाबाले यो कुरा नबुझेर सोधे, यी सबै मलाइ किन दिएको छोरी ?
तस्वीर गुगलबाट लिइएको हो ।

          दिदीले फरक कुरा सिकाउने, दाइले फरक कुरा सिकाउने, पाठ्यपुस्तकमा अर्कै छ, अनि मिसले अर्कै पढाउने ! तपाइले नै पढ्न भनेर ल्याइ दिएका यी मुना, कोपिला र अरू किताबमा अर्कै छ ! कहिलेकाहीँ हजुरलार्इ सोध्दा अर्कै सिकाउनु हुन्छ ! अनि मैले कसरी सिक्ने ? के लेख्ने ?
कति फरक फरक शुद्ध लेख्ने नियम पढ्ने मैले ? म पढ्दिन ! जाँदिन स्कूल !
के नेपाली भनेको यही रुखको फूल र कुखुरीको  फुल कसरी लेख्ने भन्ने नियम मात्र पढ्ने विषय हो र ? कथा, कविता र निबन्ध कसरी लेख्ने भनेर पढ्नु पर्दैन ? कतै किताब लेखेको छ, कतै किताप ? कतै शहर छ, कतै सहर, कतै सीप छ कतै सिप । विद्यालय हो कि विद्यालय ? कुन शुद्ध हो ? मैले कसरी थाहा पाउने ?
मलाइ कविता लेख्न कसले सिकाउँछ ? मैले लेखेका कथा पढेर कसले स्याबासी दिन्छ ? कसले सिकाउँछ मलाइ निबन्ध लेख्न ? 
अङ्ग्रेजी पढ्ने कि नेपाली ? के हो पढ्ने ? यो सब नियम एकैपटक जान्न सकिन्छ ? माथि माथि बढ्दै जाँदा सिक्दै जान्छु नि । मिस आँफैले पनि कति पटक बोर्डमा गल्ति लेख्नु हुन्छ । परीक्षाका प्रश्नमा कति गल्ती हुन्छ । हँजुरले लेखेको पनि त सबै शुद्ध हुँदैन । अनि हामी केटाकेटीले सबै शुद्ध लेख्नु पर्ने ? 
म पढ्दिन । म स्कुल जाँदिन ! 
 रमेश यो सबै सुनेर नाजवाफ  भए । उनीसँग यसको कुनै उत्तर नै थिएन । छोरीले जम्मा पारेर दिएका सबै सामग्री पल्टाउँदै उनी टोलाएर बसि रहे, बसि रहे । बाबु छोरीका यी सबै क्रियाकलापको साक्षी बसेकी रमेशकी श्रीमती, अनामिकाको दाइ र दिदीलार्इ हकार्दै थिइन, तिमीहरूले किन बैनीलाई फरक फरक कुरा सिकाउँछौ हँ ?  गृहिणी उनले यो सब बुझुन् पनि कसरी । रमेश भने अझै पनि टोलाइ रहेका थिए । र अचेल पनि बेलाबेला टोलाइरहन्छन् ।
२०७२ कात्तिक ।
achdevi38@gmail.com

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.